गान्तोक, 14 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सोमवार रिनाकमा सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका नेतृत्वहरूमाथि भएको घटनाको निन्दा गर्दै यसलाई प्रजातन्त्रको हत्या ठहर गरेको छ।
उल्लेख्य, सीएपीका अध्यक्षलगायत अन्य नेतृत्वहरूको हिजो रिनाकमा कथित एसकेएम कार्यकर्ताहरूले बाटो छेक्ने काम गरेको आरोप छ। साथै, सीएपी उपाध्यक्ष किरण जिम्बामाथि हमला भएको र यसमा एसकेएमको हात रहेको पनि सीएपीले आरोप लगाएको छ।
एसडीएफ वरिष्ठ उपाध्यक्ष, प्रचार-प्रसार कृष्ण खरेलले आज जारी एक प्रेस विज्ञप्तिमा उक्त घटनाको घोर निन्दा एवं भत्सर्ना गर्दै घटनामाथि निष्पक्ष जॉंच र दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्। उनले एसकेएम पार्टी विपक्षमा हुॅंदा र 2019 पछि सत्तामा आएपछि पनि हिंसालाई बढावा दिनु चरित्र रहेको आरोप लगाउॅंदै हिजो रिनाकमा भएको घटना सोही चरित्रको प्रमाण रहेको बताएका छन्।
उनले 2019 पछि सत्ताको दुरुपयोग गरेर एसकेएमले एसडीएफ अध्यक्ष पवन चामलिङको ज्यानसमेत लिन हमला गरेको गम्भीर आरोप लगाएका छन्। उनले एसडीएफ नेता तथा पूर्व विधानसभा अध्यक्ष केएन राई लगायत अन्य एसडीएफ कार्यकर्ताहरूमाथि पनि प्राणघातक हमला भएको उल्लेख गर्दै एसकेएमको एकमात्र बाटो भनेको हिंसा र अराजकता फैल्याएर समाजमा भयको स्थिति कायम गर्नु हो भनी आरोप लगाएका छन्।
हिन्दुस्थान समाचार / बिशाल