प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पूर्वोत्तर राज्यहरू देशको विकास इञ्जिन बन्ने दिशामा अग्रसर: केन्द्रिय राज्यमन्त्री बम्भानिया
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पूर्वोत्तर राज्यहरू देशको विकास इन्जिन बन्न अग्रसर: केन्द्रिय राज्यमन्त्री बम्भानिया


गान्तोक, 17 अक्टोबर (हि.स.)। केन्द्रिय उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण राज्यमन्त्री निमुबेन जयन्तीभाई बम्भानियाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आज पूर्वोत्तर राज्यहरूको समग्र विकास भइरहेको र पूर्वोत्तर राज्यहरूमा विकासको नयॉं द्वार खोलिएको बताएकी छन्। चार दिवसीय सिक्किम भ्रमणमा आएकी केन्द्रिय राज्यमन्त्री बम्भानिया आज राजधानीमा भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थिइन्।

उनले कुनै समय अपेक्षित पूर्वोत्तर राज्यहरू आज प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशको विकास इञ्जिन बन्ने दिशामा अग्रसर रहेको बताइन्। उनले भनिन्, 'प्रधानमन्त्रीले पूर्वोत्तरलाई आफ्नो ह्रदय र विकाससॅंग जोडेका छन्। प्रधानमन्त्रीले केन्द्रिय मन्त्रीहरूलाई पूर्वोत्तर राज्यहरूको स्थलगत भ्रमण गरेर वस्तुस्थितिको जानकारी लिन निर्देश दिएका छन्।' उनले विगत एक दशकमा पूर्वोत्तर राज्यहरूमा कनेक्टिविटीको क्षेत्रमा ऐतिहासिक उपलब्धी प्राप्त भएको बताइन्।

केन्द्रिय राज्यमन्त्री बम्भानियाले भारतलाई आत्मनिर्भर बनाउने प्रधानमन्त्रीको नयॉं संकल्पमाथि पनि प्रकाश पारिन्। उनले प्रधानमन्त्रीको विचारहरूको आधारमा भारत आज आत्मनिर्भर बन्ने दिशामा अग्रसर रहेको बताइन्। उनले भनिन्, 'विकासित भारत निर्माणको लागि भारत आत्मनिर्भर बन्नैपर्छ।' केन्द्र सरकारले पनि देशलाई आत्मनिर्भर बनाउने ठोस कदम उठाएको उनले बताइन्। यस क्रममा उनले हालैमा अपरेशन सिन्दूरले स्वदेशी शक्तिको परिचय दिएको पनि अवगत गराइन्। केन्द्रिय राज्यमन्त्रीले आफ्नो सम्बोधनमा देशलाई आत्मनिर्भर बनाउन स्वदेशीलाई प्राथमिकता दिन आह्वान पनि गरिन्।

उनले सिक्किम भ्रमणबारे चर्चा गर्दै पाकिम जिल्लामा राज्य अनि केन्द्र सरकारका विभिन्न योजनाहरूको निरीक्षण गरेको जानकारी गराइन्। भ्रमणको क्रममा राष्ट्रिय राजमार्ग 717 को काम चॉंडो पूरा गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देश दिएको उनले बताइन्। उनले सिक्किम देशकै पहिलो जैविक राज्य रहेको बताउॅंदै सिक्किमले प्रकृतिसॅंग तालमेल राखेर पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताइन्।

यस अघि आफ्नो सम्बोधनमा प्रदेश भाजपा अध्यक्ष डीआर थापाले राज्यमा चलिरहेका विभिन्न केन्द्रिय योजनाहरूको बारेमा जानकारी गराएका थिए। उनले जल ​जीवन अभियानको लागि केन्द्र सरकारबाट पैसा आइरहेको भए तापनि राज्यवासीहरू यस योजनाको लाभबाट वन्चित रहेको बताए। उनले केन्द्रिय राज्यमन्त्रीको ध्यान आकर्षित गर्दै केन्द्रबाट निगरानी पनि आवश्यक रहेको बताए।

उनले सिक्किमको जीवनरेखा मानिने राष्ट्रिय राजमार्ग 10 को वर्तमान गम्भीर अवस्थाप्रति केन्द्रिय राज्यमन्त्रीको ध्यान आकर्षित गराए। उनले उत्तर सिक्किमको ल्होनाक झील फुटेर टिस्टा नदीमा आएको बाढीले सिक्किमको अर्थतन्त्रलाई व्यापक असर परेको अवगत गराए। उनले उत्तर सिक्किमसॅंग अझै पनि सम्पर्क स्थापित हुन नसकेको बताए।

उनले राष्ट्रिय राजमार्ग 10 को अवस्थाबारे केन्द्रिय मन्त्रीहरूलाई गुहार लगाए तापनि अहिलेसम्म ठोस पहल हुन नसकेको बताए। उनले केन्द्रिय राज्यमन्त्रीलाई राष्ट्रिय राजमर्गा 10 को समस्या प्रधानमन्त्री र केन्द्रिय गृहमन्त्री समक्ष उठाइदिन अनुरोध गरे।

कार्यक्रममा प्रदेश भाजपाका उपाध्यक्ष दिनेशचन्द्र नेपाल, गान्तोक जिल्लाका अध्यक्ष पेम्पो लेप्चा, डीपीएच वार्डकी भाजपा पार्षद बिन्ध्या सिन्चुरी, अन्य पार्टी पदाधिकारीहरू र कार्यकर्ताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande