सिलगढ़ी, 18 अक्टोबर (हि.स)। सिलगढ़ी महकुमाको खोरीबाड़ी ग्रामीण अस्पतालमा पैसा लिएर नक्कली जन्म एवं मृत्यु प्रमाण पत्र बनाएको आरोप लागेको छ। ब्लक स्वास्थ्य अधिकारीले अस्पतालका एकजना डेटा एन्ट्री अपरेटरविरूद्ध थानामा लिखित सिकायत दर्ता गराएका छन्। यस घटनाको विरोधमा शनिवार भाजपाले विरोध प्रदर्शन गऱ्यो। यस दिन सिलगढ़ीका भाजपा विधायक शंकर घोष तथा फाँसीदेवाकी भाजपा विधायक दुर्गा मुर्मूको उपस्थितिमा एक विरोध ऱ्याली निकालियो। ऱ्यालीको माध्यमबाट भाजपा नेताहरूले ब्लक स्वास्थ्य अधिकारीलाई ज्ञापन सु्म्पिए।
विधायक शंकर घोषले भने, असली दोषीहरूलाई बचाउनको लागि डेटा एन्ट्री अपरेटरको नाममा सिकायत दर्ता गराइएको छ। दोषी सरकारी अधिकारी तथा निर्वाचित प्रतिनिधिहरूविरूद्ध तत्काल कारबाही हुनुपर्छ। उनले स्वास्थ्य विभागद्वारा आफ्नो कर्तव्यहरूलाई सही ढंगमा पालन नगरेकोमा जनहित याचिका दर्ता गर्ने कुरा गरेका छन्।
यता खोरीबाड़ी ब्लक स्वास्थ्य अधिकारी डा. शफिउल आलम मल्लिकले भने, अनियमितता पाइएको छ। मुख्य स्वास्थ्य अधिकारीको उपस्थितिमा मामिलाको जाँच गरिएको छ। पछि स्वास्थ्य भवनलाई रिपोर्ट पठाएर सोही आदेश अनुरूप सिकायत दर्ता गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा