खरसाङ, 18 अक्टोबर (हि.स)। दार्जिलिङदेखि नक्सलबाड़ी तर्फ आइरहेको एउटा वाहन सड़क दुर्घटनाको शिकार भयो। यस दुर्घटनामा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य तीनजना घाइते भए। मृतकहरूको नाम राजेश पासवान र सुमित सिन्हा हो। घाइतेहरूमा करण ठाकुर, तारक विश्वास तथा राज दास सामेल छन्। सबैजना नक्सलबाड़ीका निवासी रहेको बताइएको छ। घाइतेहरूलाई उपचारको निम्ति उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।
प्राप्त जानकारी अनुसार शनिवार बिहान एउटा वाहन दार्जिलिङदेखि नक्सलबाड़ी तर्फ आइरहेको थियो। खरसाङको पंखाबारीस्थित तीन घुम्तीमा आइपुग्दा वाहनको ब्रेक फेल भयो अनि वाहन अनियन्त्रित भएर सड़कदेखि तल झऱ्यो। दुर्घटना भएको खबर पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो। हाल पुलिसले घटनाको जाँच गरिरहेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा