महानदीको तिरसठ पाखाको पैह्रोमा गाडी दुर्घटनाग्रस्त, झट्टै सडक मरमत्ति गरिनु पर्ने माग
Kurseong


खरसाङ, 18 अक्टोबर (हि.स.)। महानदी ग्राम पञ्चायत अन्तर्गत तिरसठ लाइनको पैह्रोमा शनिबार बिहान एउटा गाडी दुर्घटनाग्रस्त भएको छ। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदी तिरसठ लाइनमा गत वर्ष 30 जून, 2024 मा गएको पैह्रोले राष्ट्रिय राजमार्ग 110 को सडक नै लगेपछि अस्थायी रुपमा निर्माण गरिएको बाटो भएर गाडीहरु कुदिरहेको थियो भने गत 4 अक्टोबरको राति रोहिणी रोडमा पैह्रो गएर रोड बन्द भएपछि राष्ट्रिय राजमार्ग 110 अन्तर्गत महानदीको तिरसठ लाइनको पैह्रोमा‌ अस्थायी रुपमा बनाइएको बाटो भएर नै दैनिक रुपमा धेरै गाडीहरु कुद्न थालेपछि धेरै समस्या भइरहेको थियो।

शनिवार बिहान लगभग 6:30 बजीतिर यस पैह्रो क्षेत्रमा दार्जिलिङबाट सिलगढी गइरहेको वेगेनार गाडी दुर्घटना हुँदा पैह्रोबाट 6 फिट तल झरेको महानदी ग्राम पञ्चायतका प्रधान पासाङ शेर्पाले जानकारी गराएका छन्। उनले बताए अनुसार, 6 माइलबाट उपचारको लागि सिलगढी गइरहेको बेला यहाँ वाहन दुर्घटनाग्रस्त भयो र क्रेन ल्याएर स्थानीयहरुको सहयोगमा गाडी निकालियो।

यस पैह्रो क्षेत्रमा राष्ट्रिय राजमार्गको सडक झट्टै मरमत्ति गरिनु पर्ने देखिएको छ। अहिले रोहिणी रोड बन्द भएको कारणले यही रोड भएर लगातार रुपमा गाडीहरु कुद्ने भएकाले यो अस्थायी रुपमा बनाइएको बाटो पनि दबिन सक्ने सम्भावना देखिएको छ। यस पैह्रो क्षेत्रमा शनिवार बिहान गाडी दुर्घटना भएपछि तिरसठ गाउँ समाज महानदीको तर्फबाट तयार पारिएको ज्ञापन पत्रमा महानदी ग्राम पञ्चायतको प्रधानबाट सिफारिस (अनुमोदन) गरेर खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीलाई सुम्पिको छ।

यस घटना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पाले महानदीको तिरसठ लाइनमा गएको पैह्रोमा बनाइएको अस्थायी बाटोमा अहिले दैनिक रुपमा धेरै गाडीहरु कुद्ने‌ गरेकाले निक्कै खतरा भएको बताउॅंदै यो पैह्रो क्षेत्रमा झट्टै मरमत्ति गरिनु पर्ने माग गरेका छन्। उनले विगत 30 जून, 2024 मा गएको पैह्रोले तिरसठ लाइनको खतियान नम्बर भएको जमीनका चारवटा परिवारहरुलाई विस्थापित पारेको र राष्ट्रिय राजमार्ग 16 महिनादेखि पैह्रोले‌ प्रभावित हुँदा पनि मरमत्तिको कार्य नभएकोमा आचार्य प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande