मुख्यमन्त्रीले निकट भविष्यमा शिक्षकहरूको अवकाश उमेर बढ़ाएर 60 बनाउने घोषणा गरे
मुख्यमन्त्रीले निकट भविष्यमा शिक्षकहरूको अवकाश उमेर बढ़ाएर 60 बनाउने घोषणा गरे


देन्ताम, 18 अक्टोबर (हि.स.)। पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय देन्तामले एक सय वर्षको गौरवशाली शैक्षिक यात्रा पूरा गरेको अवसरमा आयोजित सप्ताहव्यापी समारोहको आज समापन भयो। विद्यालयको खेलमैदानमा आयोजित समापन समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए।

पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय देन्तामको शतवार्षिकी समारोहको समापन अवसरमा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले विद्यालयका संस्थापकहरूप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गरे। उनले शैक्षिक यात्राको एक सय गौरवमय वर्ष मनाउने ऐतिहासिक क्षणको साक्षी बनेका शिक्षक र विद्यार्थीहरूलाई बधाई दिए।

वर्तमान पुस्ताका विद्यार्थीहरुलाई विद्यालयका संस्थापक र पूर्व विद्यार्थीबाट जीवनमा उत्कृष्टता हासिल गर्न प्रेरणा लिन उनले आग्रह गरे। मुख्यमन्त्रीले भने, शिक्षा सरकारको सर्वोच्च प्राथमिकता हो। खुशी, जिज्ञासा र सहानुभूतिमा आधारित शैक्षिक मन्त्रको उल्लेख गर्दै उनले शिक्षकहरूलाई नियमित पाठ्यक्रम पढाउनका साथै विद्यार्थीहरूसँग नियमित संवाद गर्न पनि आग्रह गरे।

मुख्यमन्त्रीले अस्थायी शिक्षक नियमितीकरण नीति 2021 अन्तर्गत एसकेएम सरकारले अस्थायी शिक्षकहरूलाई नियमित बनाएको बताउँदै पूर्व सरकारमा उनीहरूले अपमान सहनुपरेको उल्लेख गरे। पूर्व सरकारले शिक्षकहरूलाई अपमान र अवमानना गरेको, तर वर्तमान सरकारले शिक्षकहरूलाई सम्मानित गरेको उनले बताए। पूर्व सरकारमा एड्हक कर्मचारीहरूले संघर्ष गर्नु परेको थियो, तर एसकेएम सरकारले आन्दोलन नै नगरी शिक्षकहरूलाई नियमित गरेको बताए।

मुख्यमन्त्रीले निकट भविष्यमा विभागीय सचिवको पद पनि शिक्षण क्याडरबाट छनोटको लागि खोलिने र शिक्षकहरूको अवकाश उमेर बढाएर 60 वर्ष गर्ने घोषणा गरे। यसका साथै, उनले राज्यभरका सबै कलेजहरूमा एम्बुलेन्स र चिकित्सा कर्मचारी तैनाथ गरिएको जानकारी दिए, साथै वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूका लागि सवारी साधनको व्यवस्था पनि गरिएको बताए।

शिक्षकहरूलाई प्रोत्साहन गर्दै मुख्यमन्त्रीले राष्ट्रिय पुरस्कार विजेता शिक्षकहरूलाई उनीहरूको परिवारका सदस्यहरूसँगै विदेश भ्रमण भ्रमणमा पठाउने घोषणा पनि गरे। यसैगरी, राज्य पुरस्कार विजेता शिक्षकहरूलाई भारतका अन्य राज्यहरूमा भ्रमण भ्रमण प्रदान गरिने बताए।

मुख्यमन्त्रीले प्रत्येक निर्वाचन क्षेत्रमा विश्वविद्यालय निर्माणको घोषणा गर्दै सबै विकासीय परियोजनाहरू पूरा गरिने र मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा नयाँ सडक जडान गरिने जानकारी गराए। गान्तोकमा चाँडै महिलाहरूका लागि मात्र 25 रुपियाँ भाडामा महिला चालक र महिला कन्डक्टरका साथ पिङ्क सिटी रनर सेवा सुरू गर्ने पनि मुख्यमन्त्रीले घोषणा गरेका छन्।

कार्यक्रममा मुख्यमन्त्रीले देन्ताममा 100 भन्दा बढी लाभार्थीहरूलाई मुख्यमन्त्री विवेकाधीन अनुदान, मुख्यमन्त्री शैक्षिक सहायता योजना, मुख्यमन्त्री राहत कोष र मुख्यमन्त्री युवा उद्यमशीलता विकास योजना अन्तर्गत वित्तीय सहायता प्रदान गरे। प्राकृतिक प्रकोप र आपदा पीडितहरु, विद्यार्थीहरु, धार्मिक र सामाजिक संस्थाहरुलाई रु. 60 हजारदेखि 15 लाखसम्मको वित्तीय सहयोग चेकहरु लाभार्थीहरुलाई हस्तान्तरण गरियो।

समारोहमा शिक्षा मन्त्री राजु बस्नेत, भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बू, सडक तथा पुल विभागका मन्त्री एनबी दाहाल, क्षेत्र विधायक सुदेश कुमार लिम्बू, विधायक लोकनाथ शर्मा, विधायक मदन सिन्चुरी, विधायक आदित्य गोले, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande