गान्तोक, 19 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको जिल्लास्तरीय एक महत्वपूर्ण बैठक शनिवार गुर्पिसेमा बस्यो। बैठकको अध्यक्षता एमबी सुब्बाले गरेका थिए। बैठकको मुख्य एजेन्डा भावी योजना र तृणमूल स्तरमा पार्टी संगठन सुदृढीकरणको बारेमा व्यापक छलफल गर्नु रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।
बैठकमा एसडीएफ चेली मोर्चा प्रभारी कोमल चामलिङ, नाम्ची जिल्ला अध्यक्ष रमेश राई आदि उपस्थित थिए। बैठकमा पार्टी संरचनाभित्र महत्वपूर्ण भूमिकामा नवनियुक्त सदस्यहरूलाई स्वागत गरियो, जसको उद्देश्य संगठनलाई बलियो बनाउनु रहेको बताइएको छ।
विज्ञप्तिअनुसार, निर्मल छेत्रीलाई राज्यस्तरीय उपाध्यक्ष, उर्गेन शेर्पालाई नाम्ची जिल्ला उपाध्यक्ष र प्रकाश कुमार राईलाई नाम्ची जिल्ला महासचिव नियुक्त गरिएको छ। बैठकमा राज्यको उन्नतिको लागि अथक प्रयास गर्ने र आगामी समयमा पार्टीको सफलता सुनिश्चित गर्न छलफल गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल