कोकराझार (असम), २३ अक्टोबर (हि.स.)। असमको कोकराझार जिल्ला नजिकै रहेको रेलमार्गमा बम विस्फोट भएको छ, जसले रेल ट्र्याक र छेउछाउको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यो विस्फोट अलिपुरद्वार डिभिजनअन्तर्गत पूर्वोत्तर सीमान्त रेलवे (एनएफआर) को क्षेत्रमा भएको हो।
एनएफआरका सीपीआरओ कपिंजल किशोर शर्माले जारी गरेको आधिकारिक वक्तव्यमा बताए अनुसार, मध्यरातपछि करिब १ बजे एक मालगाडी आजरा सुगर सलाकाटी र कोकराझार बीचबाट गुज्रिरहेको बेला ट्रेन म्यानेजरले ठूलो झट्का महसुस गरेको रिपोर्ट गरे। त्यसपछि ट्रेन रोकियो। निरीक्षण गर्दा ट्र्याक र स्लीपरमा शंकास्पद बम विस्फोटका कारण क्षति भएको पुष्टि भएको हो।
राज्य पुलिस, आरपीएफ (रेलवे पुलिस बल) र गुप्तचर निकायका अधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन्।
वक्तव्यमा भनिएको छ, बिहान ५:२५ बजे रेल ट्र्याक मर्मत गरी आवागमन पुनः सामान्य बनाइएको छ। विस्फोटका कारण करिब आठवटा ट्रेन रोकिएका थिए। प्रभावित खण्डमा सुरक्षा पेट्रोलिङ थप गरिएको छ। हालसम्म बम विस्फोटको पछाडि कसको हात रहेको हो भन्ने कुरा खुल्न सकेको छैन।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी