
औरंगाबाद, २३ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय मन्त्री जेपी नड्डाले बिहिबार यहाँ एक चुनावी जनसभामा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) लाई विकासको प्रतीक बताए भने विपक्षी दलहरूको महागठबन्धनलाई विनाशको प्रतीक ठहर गरेका छन्। उनले भने, राजग सरकारका विकासमुखी नीतिहरूका कारण आज बिहार तीव्र गतिमा प्रगतिको बाटोमा दौडिरहेको छ। आज बिहार सडकदेखि लिएर एयरपोर्टसम्म विकासको नयाँ इतिहास लेख्दैछ।
जेपी नड्डाले औरंगाबाद जिल्लाको गोहमा राजग उम्मेदवारको समर्थनमा आयोजित जनसभामा भने, बिहारका जनताले राष्ट्रिय जनता दल (राजद) र कांग्रेसको शासनकालको इतिहास राम्ररी जान्दछन्। भाजपा–नेतृत्वको राजग विकासको प्रतीक हो र मुख्यमन्त्री नितीश कुमार तथा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको समग्र विकासका लागि सम्भव सबै प्रयास गरेका छन्।
नड्डाले राजदका तीन अक्षरहरूलाई लिएर भने, ‘रा’ को अर्थ “रंगदारी” (जबरजस्ती असुली), ‘ज’ को अर्थ “जंगलराज” र ‘द’ को अर्थ “दादागिरी” हो। उनले महागठबन्धनलाई “विनाशको प्रतीक” बताउँदै राजदको अघिल्लो सरकारको आलोचना गरे। नड्डाले भने, बिहारका जनता आज पनि “जंगलराज” सम्झँदा काँप्छन्। लालु र तेजस्वीले आफ्ना कुशासनबारे एक शब्द पनि बोलेनन्, न त आफ्ना गुन्डाराजबारे जनतासँग माफी मागे। शहाबुद्दिनका छोरालाई टिकट दिनुले देखाउँछ कि उनीहरू पुनः बिहारमा गुन्डाराज ल्याउन चाहन्छन्।
बिहारसँगको आफ्नो सम्बन्ध उल्लेख गर्दै नड्डाले भने, उनको जन्म पटना (बिहार) मा भएको हो र उनले आफ्ना बाल्यकालका २० वर्ष यही भूमिमा बिताएका हुन्। उनले भने, “म त्यो अन्धकारको युग राम्ररी सम्झन्छु, जब अपराध र अव्यवस्थाको बोलबाला थियो, तर आज बिहार तीव्र गतिमा प्रगतिका बाटोमा छ। यो उज्यालोको युग हो, जुन राजग सरकारको देन हो।”
नड्डाले बिहारको समग्र विकास सुनिश्चित गर्न राजगले गरेका प्रयासहरूमा जोड दिए र जनतालाई आगामी विधानसभा चुनाउमा राजग उम्मेदवारहरूको समर्थन गर्न अपील गरे।
भाजपा अध्यक्ष नड्डाले भने, राजगको शासनमा सडक, रेल, बिजुली लगायत प्रत्येक क्षेत्रमा अभूतपूर्व विकास भएको छ। विशेष गरी पछिल्लो दशकमा बिहारका लागि रेल बजेट १० गुणा बढाइएको श्रेय केन्द्रिय सरकारलाई जान्छ।
हिन्दुस्थान समाचार / भवानी थामी