
मङ्पू, 24 अक्टूबर (हि.स.)। मङ्पू खेलकुद संघको आयोजनामा मङ्पू जन मैदानमा वार्षिक दिपावली खेलकूद तथा मेला कार्यक्रम एक भव्य समारोहका साथ शुरु भएको छ। कार्यक्रमको सभापतित्व सिन्कोना व्यवस्थापक गोपाल लामीछानेले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जीटीएको सल्लाहकार अमर लामा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सभासद रतन थापा, डा. सामुएल राई (सिन्कोना तथा अन्य औषधीय पौधाका निर्देशक), विज्ञान मिश्र (पीआरओ) र उत्तम राई (कालेबुङ खण्ड–एकका उप सभापति) लगायत अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित रहेका थिए।
कार्यक्रमको पहिलो दिन अन्तर विद्यालय स्तरका विभिन्न खेलकुद प्रतियोगिताहरूका साथै स्थानीय विद्यालयहरूबीच मार्चपास र परेड प्रदर्शन गरिएको थियो, जसले दर्शकहरूलाई निकै आकर्षित गर्यो। यसका साथै दार्जिलिङ पुलिसले आफ्नो ब्यान्ड टोलीमार्फत् आकर्षक ब्यान्ड डिस्प्ले प्रस्तुत गर्दै कार्यक्रममा विशेष रंग थपेको थियो।
आज सम्पन्न भएको केटाहरूबीचको खुला म्याराथन दौड प्रतियोगितामा कालेबुङका पुरण राईले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भए भने याङमाकुम पनबुका अजय भुजेल दोस्रो र गान्तोक (सिक्किम) का फिरोज खत्री तेस्रो स्थानमा रहन सफल भए। प्रतियोगिता सम्पन्न भएपछि विजयी धावकहरूलाई आयोजक समितिको तर्फबाट पारितोषिक रकम र ट्रफी प्रदान गरियो।
आयोजक मङपू खेलकुद संघका अनुसार, भोलि अर्थात् २५ अक्टोबर २०२५ मा कार्यक्रमको दोस्रो दिन अन्तर विभागीय खेलकुद प्रतियोगिता सम्पन्न गरिनेछ भने १८ वर्ष माथिका केटीहरूबीच म्याराथन दौड प्रतियोगिता पनि सम्पन्न गरिने छ।
वार्षिक दिपावली खेलकुद तथा मेला कार्यक्रमले यसपटक पनि स्थानीय खेलाडीहरूको उत्साह, खेल भावना र सामाजिक एकतालाई झल्काउने उद्देश्य बोकेको बताइएको छ। आजको मार्चपास (परेड) मा मङपू वरिपरिका विधालयहरु क्रमैले सरस्वती विधालय, शारदा विद्यालय, सन्तजोसेप विद्यालय, सन्त मंगल एकाडेमी अनि हिल एन्जल्स एकाडेमीका नानीहरु मार्चपास खेले भने परेडको सलामी समारोहका प्रमुख अतिथि अमर लामाले लिएका थिए।
---------------
हिन्दुस्थान समाचार / हनोक