
नयाँ दिल्ली / बर्लिन, २३ अक्टोबर (हि.स.)। भारत र जर्मनीले बिहिबार व्यापार, लगानी, प्रविधि, हरित ऊर्जा र सीप विकासजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायहरूबारे विस्तृत छलफल गरेका छन्। भारतका केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियूष गोयल र जर्मनीकी संघीय अर्थव्यवस्था तथा ऊर्जा मन्त्री क्याथरिना रीचबीच बर्लिनमा भेटवार्ता भएको हो।
वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, बर्लिनमा आयोजित बैठकका क्रममा दुवै पक्षबीच व्यापार, लगानी, प्रविधि, हरित ऊर्जा र सीप विकासमा सहकार्य बढाउने विषयमा केन्द्रित छलफल भयो।
केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियूष गोयलले ‘एक्स’ पोस्टमार्फत जानकारी दिँदै भने, “जर्मन अर्थव्यवस्था तथा ऊर्जा मन्त्री क्याथरिना रुचसँग भेटघाट भयो। यो भेट भारत-जर्मनी साझेदारीलाई अझ सुदृढ गर्ने दिशा भएको छ।”
गोयलले यसका अतिरिक्त जर्मनीका संघीय चान्सलरीका आर्थिक तथा वित्तीय नीति सल्लाहकार तथा जी-७ र जी-२० का शेरपा महामहिम डा. लेभिन होलेसँग पनि भेट गरे र द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उपायहरूबारे चर्चा गरे।
गोयलले भने, “संघीय चान्सलरका आर्थिक तथा वित्तीय नीति सल्लाहकार र जर्मनीका जी-७ तथा जी-२० शेरपा डा. लेभिन होलेसँग भेटघाट गर्न पाउँदा खुशी लागेको छ। भेटका क्रममा भारत–जर्मनीबीचका प्रमुख क्षेत्रीय सहकार्यलाई अझ मजबुत बनाउने अवसरहरूबारे छलफल भयो।”
गोयलले भने, भारत र युरोपेली सङ्घबीचको मुक्त व्यापार सम्झौतामाथि पनि सकारात्मक छलफल भएको छ। दुवै पक्ष आफ्ना देशहरूको साझा समृद्धिका लागि प्रतिबद्ध छन्।
उल्लेखनीय छ, केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियूष गोयल हाल आर्थिक र व्यापारिक साझेदारी सुदृढ गर्न जर्मनीको सरकारी भ्रमणमा छन्। भारत–जर्मनी रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवको सन्दर्भमा भएको यो भ्रमण दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने एक महत्वपूर्ण माइलस्टोन हुने बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी