मगरजोङ भस्मे प्राथमिक विद्यालय असामाजिक तत्वहरुद्वारा दुरुपयोगप्रति स्थानीयहरु आक्रोशित
School damaged


दार्जिलिङ, 25 अक्टोबर (हि.स.)। तिहारको अवसरमा मगरजोङ भस्मे प्राथमिक पाठशालालाई केही असामाजिक तत्वहरूले दुरुपयोग गरेको घटनाले स्थानीयवासी आक्रोशित बनेका छन्। पाठशाला परिसरमा मदिरा सेवन गरी तोडफोड गरिएको साथै विभिन्न सामग्रीहरू जलाइदिएको बताइएको छ।

प्राप्त जानकारी अनुसार, विद्यालय भवनभित्र मदिराका बोतलहरू फ्याँकिएका र केही फुटाइएका तथा सिलिङका भागहरू समेत निकालेर जलाइएका छन्। यसैबीच, हाल सो पाठशाला खेल मैदानमा स्काइ लार्क युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको खुल्ला लातेभकुण्डो प्रतियोगिताका क्रममा खेलाडीहरू बस्ने पेभेलियन र फुटबल स्ट्यान्ड समेत क्षतिग्रस्त बनाइदिएका छन्।

आयोजक समितिका प्रतिनिधि दुश्यन्त राईले आधुनिक युगमा समेत यस्ता असामाजिक गतिविधिहरू हुनु अत्यन्त निन्दनीय र लज्जास्पद भएको टिप्पणी गर्दै स्थानीय प्रशासनसँग दोषीहरूलाई छानबीन गरी आवश्यक कारबाही गर्न आग्रह गरेका छन्। स्थानीय समाजसेवी र अभिभावकहरूले पनि विद्यालय सार्वजनिक सम्पत्ति भएकाले यसको संरक्षणमा सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande