राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सिक्किम र मिजोरमका राज्यपालहरूको उपस्थिति
Marathon gangtok


गान्तोक, 26 अक्टूबर (हि.स.)। राजभवन सिक्किम र भारतीय सेनाको त्रिशक्ति कोरअन्तर्गत ब्ल्याक क्याट डिभिजनको संयुक्त पहलमा आज बिहान राजधानीको पाल्जोर स्टेडियममा राज्यस्तरीय म्याराथन कार्यक्रम “सोल्जराथन 2.0– द ग्रेट हिमालयन कनेक्ट” सफलतापूर्वक सम्पन्न भयो। यस म्याराथनको उद्देश्य सेना र नागरिक समाजबीचको समन्वय, स्वास्थ्य सचेतना र एकतालाई सुदृढ गर्नु रहेको थियो।

यस अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मिजोरमका राज्यपाल जनरल भी.के. सिंह (से.नि.) विशेष रूपमा उपस्थित भएर सहभागीहरूको उत्साहवर्द्धन गरेका थिए। कार्यक्रममा ब्ल्याक क्याट डिभिजनका जीओसी मेजर जनरल एम.एस. राठौर पनि उपस्थित थिए। कार्यक्रमको शुभारम्भ मिजोरमका राज्यपालद्वारा सहभागीहरूलाई हरियो झण्डा देखाएर गरिएको थियो।

सेनातर्फबाट क्रस कन्ट्री टिमहरू, लद्दाख स्काउट, सिक्किम स्काउट र डोगरा स्काउटका टोलीहरूको सक्रिय सहभागिता रहेको थियो। विभिन्न क्षेत्रहरूबाट आएका लगभग 3००० सहभागीमध्ये दिव्याङजनहरूको सहभागिताले समावेशी समाजको भावना उजागर गरेको थियो। म्याराथनका क्रममा देशका विविध सांस्कृतिक प्रस्तुतिहरू पनि प्रदर्शित गरिए, जसले सबै दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।

पुरस्कार वितरण समारोहमा सिक्किमका राज्यपाल, मिजोरमका राज्यपाल र जीओसी ब्ल्याक क्याट डिभिजनले वरिष्ठ नागरिकदेखि बालबालिकासम्मलाई सम्मानित गरे। पुरस्कारमा नगद रकम राजभवनतर्फबाट प्रदान गरिएको राजभवनले जनाएको छ।

राज्यपाल माथुरले यस आयोजनालाई राज्यका युवाशक्ति, सैन्य–सामाजिक समन्वय र नागरिक चेतनाको दिशामा प्रेरणादायी पहलका रूपमा वर्णन गरे। उनले आयोजन समिति, सेनाका अधिकारीहरू, सहभागीहरू तथा सबै सहयोगी संस्थाहरूप्रति सफल आयोजनको लागि हार्दिक बधाई व्यक्त गरे।

यस अवसरमा पालजोर स्टेडियममा उत्साह र उमंगको वातावरण देखियो र हजारौं नागरिकहरूको सक्रिय सहभागिताले यो आयोजन ऐतिहासिक बनेको बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande