
शिलान्यास गरेर पनि मरम्मत कार्य नगरिएको आरोप
खरसाङ, 26 अक्टोबर (हि.स.)। खरसाङको सिङ्गेल चियाबारी जाने सडकको दयनीय अवस्थालाई इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) ले गम्भीरतासॅंग लिएको छ। आईजीजेएफका पदाधिकारीहरूले खरसाङदेखि सिङ्गेल चियाबारी जाने बाटोको निरीक्षण भ्रमण गरेका छन्।
आईजीजेएफको खरसाङका प्रवक्ता आरके शर्मा, सन्त मेरिज ग्राम पञ्चायत दुईका संयोजक अनुजा राई, सिङ्गेल चियाबारी युनिटका सभापति, सचिवलगायत अन्यहरुले उक्त बाटोको निरीक्षण गरेर झट्टै मरम्मत गर्नुपर्ने माग गरेका छन्। यस बाटो भएर दैनिक रूपमा आवतजावत गर्ने नेताहरू र सरोकारवालाहरूले पनि समस्या देख्दादेख्दै पनि बेवास्ता गरेको स्थानीय मानिसहरूको आरोप छ।
आईजीजेएफ पार्टीका प्रतिनिधिहरूले सडकको दुरावास्थाप्रति स्थानीय सरकारको कडा आलोचना गरेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्रवक्ता आरके शर्माले भने, सिङ्गेल चियाबारीको सडकलाई लिएर पञ्चायत चुनाउदेखि नै चलखेल भएको थियो। सांसदले पनि यो सडक बनाइदिन्छु भनेका थिए। यसैगरी, क्षेत्रीय सभासदले यो रोडको मरम्मतिको लागि शिलान्यास गरे तापनि अहिलेसम्म मरम्मतिको कार्य भएको छैन।
उनले अति नै जीर्णावस्थामा रहेको सडकको झट्टै मरम्मति गरिनुपर्ने माग गरेका छन्। उनले अझ भने, यो रोड भएर दैनिक रूपमा ओहोर दोहोर गर्ने स्थानीय मानिसहरु र विद्यार्थीहरुलाई केही भएको खण्डमा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्नेछ। यो रोड केवल राजनीतिक चलखेल गर्ने ठाउॅं मात्र भएको छ।
हिन्दुस्थान समाचार / हनोक