भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग
Bjp


गान्तोक, 27 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज पाकिम जिल्लाका एडीसीलाई सिक्किम गरीब आवास योजनाका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरण र भाजपा टोलीसॅंग संयुक्त निरीक्षणको माग गर्दै ज्ञापन बुझाएको छ। भाजपा टोलीको यो दोस्रो एडीसी कार्यालय भ्रमण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

भाजपा टोलीले गत सेप्टेम्बर महिनामा आफ्नो प्रारम्भिक भ्रमणको क्रममा सिक्किम गरीब आवास योजना (एसजीएवाई) को लागि लाभार्थी छनोट गर्ने प्रक्रिया अपारदर्शी र राजनीतिक हस्तक्षेपबाट प्रभावित रहेको बताउॅंदै एडीसीलाई तुरुन्तै हस्तक्षेप गर्न अनुरोध गरेको थियो भनी बताइएको छ। यस विषयमा कारबाही गरिएको बारेमा कुनै आधिकारिक जानकारी प्राप्त नगरेको र मिडियामा सार्वजनिक रूपमा यो मुद्दालाई सम्बोधन नगरिएपछि भाजपा टोली आज दोस्रो पटक भ्रमण गर्न बाध्य बनेको विज्ञप्तिमा उल्लेख छ।

बैठकमा प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटिया र टोलीका सदस्यहरूले एडीसीलाई पहिलेको ज्ञापनबारे फेरि एक पटक अवगत गराए र वास्तविक रूपमा खाँचोमा परेका र योग्य नागरिकहरूलाई अदेखा गरिएको मुद्दा उठाए। भाजपा टोलीले तत्काल र समयबद्ध पुन: प्रमाणीकरण र पारदर्शिताको लागि संयुक्त निरीक्षणको माग गरेको छ। टोलीले एडीसीको कार्यालयलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिॅंदै संयुक्त निरीक्षण र प्रमाणीकरण प्रक्रियाको लागि उनीहरू कुनै पनि समयमा उपलब्ध रहने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande