
पटना, २८ अक्टोबर (हि.स.)। बिहारको राजधानी पटनासहित सम्पूर्ण प्रदेशभर चारदिने महापर्व छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भयो। एक अणे मार्गस्थित निवासमा मुख्यमन्त्री नितीश कुमारले पनि परिवारका सदस्यहरूसँग उदाउँदो भगवान भास्करलाई अर्घ्य अर्पण गरे।
राजधानी पटना, मुजफ्फरपुर, दरभंगा, पूर्णिया, भागलपुर तथा अन्य जिल्लाहरूमा हजारौँ श्रद्धालुहरू नदीनाराहरू र गङ्गा घाटहरूमा भेला भई सूर्यदेव र छठी मइयालाई अर्घ्य अर्पण गरे। यसअघि सोमबार साँझ डुब्दो सूर्यलाई अर्घ्य दिन गङ्गा किनारमा भक्तजनहरूको ठूलो भीड जम्मा भएको थियो। सम्पूर्ण वातावरण भजन–कीर्तनले गुन्जिएको थियो।
पटनाको काली घाट, कदम घाट, पटना कलेज घाट र कृष्णा घाटमा पानीमा तैरिरहेका दीपहरू र पूजा–अर्चनाको गुञ्जनले मनमोहक दृश्य प्रस्तुत गरेको थियो। सूर्यदेवको स्तुतिमा भजनहरू गाइए। श्रद्धालुहरूको सुविधाका लागि जिल्ला प्रशासनले घाटहरूमा कपडा फेर्ने व्यवस्था र सुरक्षाका विभिन्न प्रबन्ध मिलाएको थियो।
आज (मंगलबार) उत्तराषाढा नक्षत्रमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न पटनामा ७८ घाटहरूमा व्रतीहरूले पूजा गरे। साथै ६० कृत्रिम पोखरीहरू निर्माण गरिएको थियो। चारदिने छठ पर्वलाई दृष्टिगत गर्दै प्रशासनले कडा सुरक्षा व्यवस्था अपनायो। राजधानीका ३५ गङ्गा घाटहरूमा १८७ वटा क्यामेरा जडान गरिएको थियो। पटना जिल्लाभरि गङ्गा र तिनका सहायक नदीका ५५० घाटहरूमा छठ व्रत सम्पन्न भयो, जसमा ४४४ गोताखोरहरू खटाइएका थिए। साथै शहरी र ग्रामीण दुबै क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा नोडल चिकित्सा अधिकृतहरू नियुक्त गरिएका थिए।
उल्लेखनीय छ, सोमबार छठ पर्वका कारण राज्यभर राजनीतिक गतिविधिहरूमा केही विराम आएको थियो। विपक्षी महागठबन्धनले मंगलबार आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। मुख्यमन्त्री नितीश कुमार, प्रतिपक्षका नेता तेजस्वी यादव र केन्द्रिय मन्त्री चिराग पासवानसहित अधिकांश नेताहरू सोमबार आफ्नो घरमै रहेर परिवारसँग यस लोकप्रिय पर्व श्रद्धापूर्वक मनाउँदै देखिए।
हिन्दुस्थान समाचार / भवानी थामी