
गान्तोक, 28 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किम सिक्किम महिला मोर्चाले विपक्षी दलका युवा नेतृहरू योजना राई र रीमा चापागाईमाथि हालै भएको डिजिटल आक्रमणको कडा निन्दा गर्दै महिला विरुद्धको अनलाइन दुर्व्यवहार र उत्पीडनको यस्तो कार्य अस्वीकार्य छ भनी बताएको छ।
भाजपा सिक्किम महिला मोर्चाले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, 'हामी हरेक महिलासँग ऐक्यबद्धतामा उभिन्छौं, चाहे त्यो एसकेएम, एसडीएफ, भाजपा, सीएपी वा अन्य कुनै पनि संस्थाबाट होस्। कुनै पनि रूपमा महिला विरुद्ध हिंसा, दुर्व्यवहार वा अनादर कहिल्यै सहन गरिने छैन।'
भाजपा सिक्किम महिला मोर्चाले महिला कल्याणका लागि लक्षित पहलहरू जस्तै अम्मा योजना र राज्यका आमा र छोरीहरूलाई उत्थान र समर्थन गर्ने अन्य कार्यक्रमहरूको सराहना गर्दै सिक्किम सरकारलाई यस घटनाको गम्भीर ध्यानाकर्षण गर्न र जिम्मेवार व्यक्तिहरूलाई न्यायको कठघरामा ल्याउन आग्रह गरेको छ।
महिला मोर्चाले हाम्रा छोरी र दिदीबहिनीहरू विरुद्ध अनुपयुक्त र अपमानजनक टिप्पणी गर्ने जिम्मेवार फेक सोशल मिडियालाई पहिचान गरी कानून अन्तर्गत सजाय दिनुपर्छ भनी माग पनि गरेको छ। यसैगरी, साइबर सेललाई तुरुन्तै र निर्णायक कारबाही गर्न आह्वान गरेको छ ताकि भविष्यमा कसैले पनि यस्तो अपराध दोहोऱ्याउने साहस नगरोस्।
भाजपा महिला मोर्चाले पुलिस विभाग र राज्य महिला आयोगलाई यस विषयमा सक्रिय रूपमा अनुसन्धान गर्न र सिक्किमका महिलाहरूले अनलाइन र अफलाइन सबै ठाउँमा सुरक्षित महसुस गरून् भन्ने कुरा सुनिश्चित गर्न अनुरोध गरेको छ। भाजपा सिक्किम महिला मोर्चाले दिल्लीस्थित राष्ट्रिय महिला आयोगसमक्ष पनि यो मुद्दा उठाउने जानकारी गराएको छ। पार्टीले न्याय सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूबाट द्रुत र कडा कारबाहीको अपेक्षा गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल