सीएपीले जनअधिकार र प्रजातान्त्रिक मूल्यहरूको रक्षा गर्न निरन्तर संघर्ष गर्नेछ: गणेश राई
गणेश राई


गान्तोक, 28 अक्टोबर (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज गेजिङस्थित आफ्नो पार्टी कार्यालयमा 'ब्ल्याक डे' पालन गर्दै एक विशेष कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रम पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो।

वर्ष 2024 को उपचुनाउमा विपक्षी दलका प्रस्तावकहरूलाई कथित धम्की दिने, विपक्षी उम्मेदवारहरूलाई अपहरण गर्ने र जनतालाई मताधिकार प्रयोग गर्न नदिई लोकतन्त्रको अवमूल्यन गरिएको विरोधस्वरूप सीएपी सिक्किमले 28 अक्टोबरलाई 'ब्ल्याक डे' का रूपमा मनाउने निर्णय गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।

सीएपी अध्यक्ष राईले आफ्नो सम्बोधनमा वर्तमान सरकारले प्रजातन्त्रका मर्म र मूल्यहरूको हनन गरेको आरोप लगाउँदै 'ब्ल्याक डे' मनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, 'ग्राम पञ्चायत चुनाउमा जनतालाई आफ्ना प्रतिनिधि स्वतन्त्र र निष्पक्ष रूपमा छान्ने अधिकारबाट वञ्चित गराउने कार्य अहिलेको सरकारले पनि निरन्तरता दिएको छ। विपक्षमा रहँदा निष्पक्ष पञ्चायत चुनाउको माग गर्ने, तर सत्तामा आएपछि त्यसैको उल्लंघन गर्ने मुख्यमन्त्री पीएस गोलेको व्यवहार तानाशाही सोचको प्रमाण हो।'

उनले भने, 'प्रजातन्त्रको मर्यादामाथि प्रहार गर्दै जनतालाई भयभीत बनाउने कुनै पनि प्रयास अस्वीकार्य छ। सिटिजन एक्सन पार्टीले जनअधिकार र प्रजातान्त्रिक मूल्यहरूको रक्षा गर्न निरन्तर संघर्ष गर्नेछ। जबसम्म आम नागरिक सचेत भई स्वस्थ र सबल सिक्किम निर्माणमा जुट्दैनन्, तबसम्म हाम्रो अभियान जारी रहनेछ।'

सत्तारूढ दललाई पारदर्शिता र जवाफदेहिताको उदाहरण प्रस्तुत गर्न आग्रह गर्दै अध्यक्ष राईले प्रश्न गरे, 'के विगत छ वर्षमा एसकेएम सरकारले 22 हजार करोड रुपियाँ ऋण लिएको होइन? के महालेखा परीक्षकले कोभिड अवधिको खर्चमा अनियमितता भएको भन्दै रकम फिर्ता गर्न निर्देशन दिएको होइन? यी प्रश्नहरूको स्पष्ट जवाफ जनताले पाउनै पर्छ।'

उनेले थप जोड दिॅंदै भने, 'स्वस्थ प्रजातन्त्रमा विपक्षको भूमिका जनताको आवाज बन्ने हो। जब सत्ताले त्यसमा बाधा पुर्‍याउँछ, त्यो प्रजातन्त्रको अपमान हो। सत्तारूढ दलले विपक्षमाथि आरोप लगाउँछ भने त्यसको प्रमाणसहित जनतामाझ ल्याउनुपर्छ।'

कार्यक्रमलाई रिमा चापागाईं, अल्बर्ट गुरुङ, पबिनहाङ सुब्बा, महेश राई, ओङ्डिला भोटिया, भूषण अधिकारी लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande