कोमल चामलिङले एसकेएममाथि नारी विरोधी र पितृसत्तात्मक सोचलाई संरक्षण दिएको आरोप लगाइन्
कोमल चामलिङले एसकेएममाथि नारी विरोधी र पितृसत्तात्मक सोचलाई संरक्षण दिएको आरोप लगाइन्


गान्तोक, 28 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) चेली मोर्चाले पार्टीकी प्रवक्ता योजना खालिङ विरुद्ध सामाजिक सञ्जालमा कथित फेक अकाउण्ट्स सञ्चालकहरूले गरेका अभद्र टिप्पणीहरूलाई गम्भीरतासॅंग लिॅंदै पीडित खालिङले न्याय नपाएसम्म निरन्तर आवाज उठाइरहने बताएको छ। एसडीएफ चेली मोर्चाले यस विरुद्ध राष्ट्रिय महिला आयोगमा पनि शिकायत गर्ने र सड़कमा उत्रिन समेत पछि नहट्ने बताएको छ।

एसडीएफ चेली मोर्चा उपाध्यक्ष कोमल चामलिङले आज एसडीएफ मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा पार्टीकी प्रवक्ता योजना खालिङ र विपक्षी पार्टीकी एक अन्य महिला विरुद्ध सामाजिक सञ्जालमा गरिएको अभद्र टिप्पणीहरूलाई लिएर सोमवार राज्य महिला आयोग र सिक्किम पुलिस महानिदेशकमा शिकायत दर्ता गराएको बताइन्। उनले पीडित महिलाहरूलाई न्याय दिनु पर्ने माग गर्दै एसकेएम पार्टी सत्तामा आएपछि सिक्किमको राजनीतिको स्तर एकदमै सस्तो भएर गएको आरोप लगाइन्।

उनले विपक्षी पार्टीका महिला नेतृहरू अघि आएर बोल्दा उनीहरूलाई बलात्कार गर्ने धम्की दिइन्छ भनिन्। उनले यो हमला कुनै एक महिला विरुद्ध मात्र नभई सिक्किमका सम्पूर्ण नारीहरूको गरिमामाथि हमला रहेको ठहर गरिन्। उनले एसकेएम पार्टीमाथि नारी विरोधी र पितृसत्तात्मक सोचलाई संरक्षण दिएको पनि गम्भीर आरोप लगाइन्। उनले यस मामिलामा जॉंच र पीडित नारीहरूलाई न्याय सुनिश्चित गरिनुपर्ने माग गरिन्।

यसैगरी, प्रवक्ता योजना खालिङले यस घटनालाई सत्ताधारी एसकेएम पार्टीले भत्सर्ना जनाउनुको सट्टामा यस्ता कार्य गर्नेहरूको पक्षमा बोलिरहेको आरोप लगाइन्। उनले 32 मा 32 रहेको सरकारले दुई जना व्यक्तिलाई पक्राउ गर्न नसक्नु आफू कमजोर रहेको प्रमाणित गर्नु हो भनिन्। यदि एसकेएम सरकारले वास्तवमा नारीहरूको सम्मान गर्छ भने दुई जना फेक अकाउण्ट चलाउनेहरूलाई झट्ट पक्राउ गरेर देखाउनु पर्ने उनले चुनौती पनि दिइन्। उनले यस मुद्दामा चुप लागेर बस्ने छैनौं भन्दै सडकमा उत्रिन र धरना दिन पनि तयार रहेको बताइन्।

एसडीएफ पार्टीकी वरिष्ठ उपाध्यक्ष सकुन गुरुङले यस घटनाको घोर भत्सर्ना जनाउॅंदै पीडितहरूले न्याय नपाएसम्म आवाज उठाइरहने बताइन्। उनले मुख्यमन्त्री राज्यमा गृहमन्त्री पनि हुन् भन्दै मुख्यमन्त्रीले चाहेको खण्डमा तत्काल पक्राउ गर्न सकिन्छ भनिन्। उनले यस घटनाको प​छाडि एसकेएम पार्टीकै हात छ भन्ने स्पष्ट भइसकेको आरोप लगाउॅंदै न्याय नपाएको खण्डमा राष्ट्रिय महिला आयोगमा शिकायत गर्ने बताइन्।

यस अघि एसडीएफ युवा नेतृ उर्वशी खालिङले सोशल मिडियामा महिला विरुद्ध अपमानजनक टिप्पणीहरूलाई सहन गरिने छैन भनिन्। उनले महिलाहरूलाई खुल्ला बलात्कारको धम्की दिइएको छ भन्दै यसको विरोधमा चुप लागेर बस्नु भनेको यस्तो घटनालाई समर्थन गर्नु र भविष्यमा अझ गम्भीर घटनालाई निम्तो दिनु रहेको बताइन्। उनले प्रश्न गर्दै भनिन्, 'के महिलाहरूले आफ्नो सुरक्षाको लागि सत्ता पक्षमै हुनुपर्छ?'

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande