फेक आईडी प्रकरणमा सत्तारुढ़ दलकै हात हुन सक्ने सीएपी सिक्किमको आशंका
सीएपी महिला परिषद् अध्यक्ष बिना शर्मा


गान्तोक, 29 अक्टोबर (हि.स.)। सामाजिक सञ्जालमा महिलाहरू विरुद्ध उत्पीड़नको मुद्दालाई लिएर सिक्किममा राजनीति चर्किन थालेको छ। यस मुद्दालाई लिएर राज्यका विपक्षी दलहरूले सत्तारुढ़ एसकेएम पार्टीलाई घेर्न थालेको छ। यस विषयमाथि एसकेएम र विपक्षी एसडीएफबीच आरोप-प्रत्यारोपको क्रम चलिरहेको बेला विपक्षी सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले पनि यस कार्यमा सत्तारुढ़ पार्टीको हात हुन सक्ने आशंका व्यक्त गरेको छ।

सीएपी महिला परिषद् अध्यक्ष बिना शर्माले पार्टीकी युवा नेता रिमा चापागाईंमाथि एउटा फेक आईडीबाट गत 14 सेप्टेम्बरका दिन असहनीय, अभ्रद र अश्लील कमेन्ट गरिएको आज प्रेस विज्ञप्तिमा जानकारी गराइएकी छन्। उनले प्रशासन तथा सरकारलाई अनेकौं माध्यमबाट गुहार लगाइसक्दा पनि पक्राउ पर्नुको सट्टा अपराधीले अन्य फेक आईडी बनाएर बारम्बार अझ अभद्र टिप्पणी गरिरहेको जनाएकी छन्। उनले यतिका दिन बितेर जॉंदा पनि प्रशासन र सरकार पक्षबाट कुनै प्रकारको पहल नभएको आरोप लगाएकी छन्।

यस बीच विपक्ष एसडीएफकी प्रवक्ता योजना खालिङमाथि पनि दुरुस्तै कमेन्ट दुईवटा फेक आईडी मार्फत लगातार गरिएको र यस विरूद्ध पनि सीएपीले आवाज उठाइरहेको बताएकी छन्। उनले यस विषयमा सरकारको मौनतामाथि प्रश्न तेर्साउॅंदै सरकारले कान थुनेर अपराधीलाई बचाउने काम गरिरहेको गम्भीर आरोप लगाएकी छन्। उनले हाम्रो माग केवल अपराधीलाई पक्राउ गर भन्ने हो भन्दै सरकार पक्षबाट उल्टै पीडित पक्षलाई दोषारोपण गरेको देख्दा कहीँ यो सब खेल सरकारकै इशारामा भइरहेको छैन भन्ने शंका लाग्न थालेको बताएकी छन्।

महिला परिषदकी अध्यक्ष शर्माले भनिन्, 'कुनै पनि अपराधीलाई यदि सत्ता पक्षले जोगाउने काम गर्छ भने त्यो अपराधी सत्ताद्वारा नै सञ्चालित हुन्छ। जब कुनै सत्ताले अपराधी विरूद्ध कुनै कारबाही गर्दैन र अपराधीलाई बचाउँछ, तब त्यही सत्ता त्यो अपराधको जिम्मेवार हुन्छ। यो सत्य वर्तमान पूर्व तथा भविष्यका सबै सरकारमा लागू हुन्छ।' उनले यस मुद्दामा सीएपी चुपचाप बसेको छैन र निष्कर्षमा नपुगेसम्म बस्ने पनि छैन भनेकी छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande