
गान्तोक, 29 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान आफ्नो सरकारी आवास मिन्तोकगाङमा योक्सम टाशीडिङ निर्वाचन क्षेत्रको थिङलिङ खेचीपेरी निवासी वृद्ध दम्पति सञ्चमान सुब्बा र दिलमाया सुब्बासॅंग शिष्टाचार भेट गरे। उनले वरिष्ठ नागरिकहरूलाई भेट्नु र उनीहरूको आशीर्वाद लिनु सधैं गहिरो सन्तुष्टिदायी र हृदयस्पर्शी अनुभव हुन्छ भनी बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस भेट अवधि वृद्ध दम्पतिको स्वास्थ्य र कल्याणबारे जानकारी लिएको र उनीहरूका सरलता, न्यानोपन र बुद्धिमत्ताबाट प्रभावित भएको उल्लेख गरेका छन्।
उनले हेरचाह र सम्मानको प्रतीक स्वरूप राज्य सरकारले सिक्किम गरीब आवास योजना अन्तर्गत उनीहरूका लागि नयाँ घर निर्माण गरिदिने र घर निर्माणको काम चाँडै शुरु हुने जानकारी गराएका छन्। मुख्यमन्त्रीले वृद्ध दम्पतिको सुस्वास्थ्य, खुशी र सॅंगै दीर्घायु जीवनको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल