

गान्तोक, 29 अक्टोबर (हि.स.)। भारत र नेपाल वरिष्ठ राष्ट्रिय महिला फुटबल दलबीच आज (बुधवार) सॉंझ राजधानीको पाल्जोर स्टेडियममा मैत्रीपूर्ण खेल हुनेछ। भारत र नेपालका फुटबल दल हिजो सॉंझ गान्तोक आइपुगेको छ। हिजो राति सम्मान भवनमा दुवै दलका खेलाड़ीहरूका लागि रात्रिभोजको आयोजना गरिएको थियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए।
मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा जानकारी साझा गर्दै लेखे, 'सम्मान भवनमा भारत र नेपालका वरिष्ठ राष्ट्रिय महिला फुटबल टोलीहरूको सम्मानमा रात्रिभोज आयोजना गर्न पाउनु सम्मानको कुरा थियो। यी प्रतिष्ठित खेलाडीहरू हाम्रो राज्य स्थापनाको 50औं वर्षको उपलक्ष्यमा 29 अक्टोबरमा हाम्रो प्रतिष्ठित पाल्जोर स्टेडियममा हुने अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भाग लिन सिक्किममा छन्।'
मुख्यमन्त्रीले दक्षिण एशियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलसॅंग भेट्न तथा प्रतिभाशाली खेलाड़ीहरू र समर्पित प्रशिक्षकहरूसॅंग अन्तरक्रिया गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले खेलाड़ीहरूको जोश, अनुशासन र खेलप्रतिको प्रतिबद्धताले हाम्रो क्षेत्र र बाहिर महिला फुटबलको बढ्दो महत्त्वलाई प्रतिबिम्बित गर्दछ भनी उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले आगामी खेल र उनीहरूको भविष्यका प्रयासहरूको लागि दुबै टोलीलाई शुभकामना दिएका छन्।
हिन्दुस्थान समाचार / बिशाल