
गान्तोक, 29 अक्टोबर (हि.स.)। सिक्किम महिला आयोगद्वारा राष्ट्रिय महिला आयोग, नयाँ दिल्लीको सहकार्यमा आज दक्षिण सिक्किमको राभाङ्गला सामुदायिक भवनमा 'यौन दुर्व्यवहार रोकथाम सम्बन्धी जनचेतना कार्यक्रम' आयोजन गरियो। कार्यक्रमको मुख्य उद्देश्य कार्यस्थल तथा समाजमा महिलामाथि हुने यौन दुर्व्यवहार, उत्पीडन र हिंसाका घटनाबारे सचेतना फैलाउने, कानूनी अधिकारहरूको जानकारी प्रदान गर्ने र सुरक्षित तथा सम्मानजनक वातावरण निर्माणमा सबैको सहभागिता सुनिश्चित गर्नु रहेको थियो।
सिक्किम महिला आयोगकी अध्यक्ष टेनी डोमा भोटियाले आफ्नो सम्बोधनमा महिलाको सम्मान र समान अधिकार सुनिश्चित गर्न आयोग निरन्तर क्रियाशील रहेको बताइन्।
उनले यौन उत्पीडन रोकथाम ऐन लगायतका कानूनी प्रावधानहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।
कार्यक्रममा वन स्टप सेन्टर–जोरेथाङकी केन्द्र प्रशासक सङ्गीता गुरुङले वन स्टप सेन्टर र महिला हेल्पलाइनको कार्यप्रणाली, सेवा र उपलब्ध सहयोगबारे विस्तृत जानकारी प्रस्तुत गरिन्। उनले पीडित महिलाहरूका लागि मनोवैज्ञानिक, कानूनी र आपतकालीन सहयोग सेवा उपलब्ध रहेको जानकारी दिइन्।
यसैगरी, अधिवक्ता बिना राईले यौन उत्पीडन रोकथाम ऐनका कानूनी प्रावधानहरूबारे व्याख्या गर्दै कार्यस्थलमा सुरक्षित वातावरण निर्माण सबै संस्थाको दायित्व रहेको बताइन्। नाम्ची जिल्ला बाल संरक्षण अधिकृत पेमा वाङ्मु भोटियाले बालबालिकामाथि हुने लैङ्गिक दुर्व्यवहार सम्बन्धी पोक्सो ऐनका मुख्य प्रावधानहरूबारे संक्षिप्त जानकारी प्रस्तुत गरिन्।
राभाङ्गला थाना (थानाध्यक्ष) पुलिस निरीक्षक सुनील राईले नयाँ भारतीय दण्ड संहिता अन्तर्गत ती प्रावधानहरूबारे जानकारी दिए, जसले पोक्सो ऐनसँग मिल्दोजुल्दो रूपमा पीडितको अधिकार र सुरक्षामा बल पुर्याउॅंछ।
कार्यक्रममा राबोङ महकुमा अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विद्यार्थीहरू, स्थानीय महिला समूहका सदस्यहरू, पुलिस अधिकारीहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको सिक्किम राज्य महिला आयोगले प्रेस विज्ञप्तिमा बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल