
गान्तोक, 29 अक्टोबर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र सिजिटन एक्सन पार्टी (सीएपी) माथि एसडीएफ र यसका पार्टी अध्यक्षलाई बदनाम गर्न हात धोएर पछि परेको आरोप लगाएको छ। पूर्व मन्त्री तुलसीदेवी राईको एउटा भिडियो सत्तारुढ दलले व्यापक रुपमा प्रचार गरिरहेको उल्लेख गर्दै एसडीएफले यस्तो आरोप लगाएको छ।
एसडीएफ प्रचार सचिव मंगल प्रसाद न्यौपानेले आज जारी एउटा प्रेस विज्ञप्तिमा एसडीएफ पार्टी र पार्टी अध्यक्षलाई बदनाम गराउन अप्रमाणित र असत्य कुरा फैल्याएर जनतालाई भ्रममा राख्ने षड्यन्त्र भइरहेको बताएका छन्। उनले कसैले बनाएको भिडियोलाई अन्य कसैले भिडियो रिलिज भनेर प्रचार गर्दा पनि सम्बन्धित व्यक्तिले कुनै आपत्ति नजनाउनु भनेको दुवैको एसडीएफ र यसका अध्यक्षलाई बदनाम गराउने षड्यन्त्र हो भनेर बुझ्नुपर्छ भनेका छन्।
उनले भने, पूर्व मन्त्री तुलसी देवि राईको भिडियो सत्तारुढ दलले व्यापक रुपमा प्रचार गरिरहेको छ। जुन भिडियोलाई एसडीएफले प्रमाणित गर्न चेताउनी पनि दिइसकेको छ। सिटिजन एक्सन पार्टीले पनि उक्त भिडियोमाथि कुनै प्रतिक्रिया जनाएको छैन। यसबाट प्रष्ट हुन्छ, एसडीएफलाई बदनाम गराउन दुवै दल सत्तारुढ एसकेएम र सिटिजन एक्सन पार्टी हात धोएर लागि परेका छन्।
उनले एसडीएफ पार्टी उक्त निराधार आरोपको जोडदार रुपमा खण्डन गर्दछ भन्दै यस्ता भ्रामक र कपोकल्पित बयानहरु एसडीएफलाई बदनाम गराउने षड्यन्त्र हो भनी भत्सर्ना गर्दछ भनेका छन्।
हिन्दुस्थान समाचार / बिशाल