साइबर उत्पीड़न मामिलालाई लिएर एसकेएम र एसडीएफबीच आरोप-प्रत्यारोप
skm nari shakti


- किर्ते पर्चा र फेक आईडीको जनक एसडीएफ रहेको एसकेएमको आरोप

गान्तोक, 29 अक्टोबर (हि.स.)। सामाजिक सञ्जालमा महिलाहरू विरुद्ध उत्पीड़न मामिलालाई लिएर सत्तारुढ़ एसकेएम पार्टी र विपक्षी एसडीएफ पार्टीबीच आरोप-प्रत्यारोपको क्रम शुरू भएको छ। एसडीएफ पार्टीको चेली मोर्चाले हिजो आयोजित एक पत्रकार सम्मेलनमा एसकेएम पार्टीले नै फेक आईडी बनाएर विशेषगरि विपक्षी महिलाहरू निशाना बनाइरहेको आशंका व्यक्त गरेको थियो। अर्कोतिर, एसकेएम पार्टीको नारी शक्तिले आज यसको प्रतिउत्तरमा आयोजित एक पत्रकार सम्मेलनमा एसडीएफ पार्टी नै किर्ते पर्चा र फेक आईडीको जनक रहेको आरोप लगाएको छ।

एसकेएम नारी शक्ति अध्यक्ष बिना राईले किर्चे पर्चा र सामाजिक सञ्जालहरूमा फेक आईडीको माध्यमद्वारा महिलाहरूको चरित्र हनन् गरिने कार्यको कड़ा शब्दमा भत्सर्ना जनाइन्। उनले एसडीएफ पार्टीमा छॅंदाको आफ्नो अनुभव साझा गर्दै एसडीएफ पार्टी कार्यालयहरूबाटै किर्ते पर्चा वितरण हुने गर्थ्यो भनी दाबी गरिन्। उनले त्यस समय एसडीएफ चेली मोर्चाका सदस्यहरू पार्टीकै नेतृत्वहरूबाट जोगिएर बस्नुपर्ने अवस्था रहेको आफ्नो तितो अनुभव साझा गरिन्।

यसैगरी, एसकेएम नारी शक्ति उपाध्यक्ष छिरिङ पाल्देन भोटियाले साइबर उत्पीड़न मामिलाहरूको भत्सर्ना जनाउॅंदै पुलिस प्रशासनलाई सम्बन्धित फेक आईडी चलाउनेहरू विरुद्ध कड़ा कारबाहीको माग गरिन्। एसडीएफले लगाएका आरोपहरूको खण्डन गर्दै उनले एसकेएम पार्टीलाई फेक आईडी चलाउनु पर्ने कुनै आवश्यकता नरहेको स्पष्ट पारिन्। उनले आफ्नो राजनीतिक लाभको लागि महिलाहरूलाई अगाडि लगाउने कार्य बन्द गर्नुपर्छ भनिन्।

यस अघि जिल्ला प्रभारी प्रभा प्रधानले पिङ्क सिटी रनरलाई लिएर विपक्षीहरूले गरिरहेका टिप्पणीहरूको जवाफमा यो सेवा नारीहरूको सम्मानमा शुरू गरिएको हो भनिन्। उनले तथ्याङ्क नियाल्न सुझाउ राख्दै सिक्किम आज महिलाहरूको लागि सुरक्षित राज्य रहेको दाबी गरिन्। उनले सिक्किममा फेक आईडीको बिउ रोप्ने को हो? भनेर प्रश्न गर्दै एसडीएफ पार्टीकी पूर्व मन्त्री तुलसीदेवी राईले एसडीएफ पार्टी नै फेक आईडीको जनक रहेको आफ्नो एक भिडियोमा ठोकुवा गरिसकेको कुरा स्मरण गराइन्।

एसकेएम प्रवक्ता कविता सापकोटाले सामाजिक सञ्जालमा महिलाहरू विरुद्ध हुने घृणित कार्यहरूको भत्सर्ना जनाइन्। अर्कोतिर, उनले एसडीएफ पार्टीले नै 1993 देखि सिक्किममा किर्ते पर्चाको प्रथा शुरू गरेको गम्भीर आरोप लगाइन्। उनले हालै एसडीएफ नेतृ विरुद्ध सामाजिक सञ्जालमा भएको अभद्र व्यवहारको पछाडि पनि एसडीएफ पार्टीकै हात हुन सक्ने सम्भावना व्यक्त गरिन्।

उनले यस घटनालाई एसकेएम पार्टीले एसडीएफद्वारा नारीहरूलाई औजार बनाएर फेरि चौकीमा बस्न चाहने प्रयासको रूपमा हेरिरहेको स्पष्ट पारिन्। उनले एसडीएफको सरकारमा विपक्षी नारीहरूलाई सामाजिक सञ्जालमा बद्नाम गर्ने काम हुॅंदा त्यस समय एसडीएफ चेली मोर्चा कहॉं थिए भनी प्रश्न तेर्साइन्। उनले एसडीएफ अध्यक्ष पवन चामलिङको नाम लिॅंदै आफ्नो राजनीतिक लाभको लागि छोरी-चेलीहरूलाई हतियार बनाउन बन्द गर्न आह्वान पनि गरिन्।

एसकेएम पार्टीकी कार्यालय पीआरओ जुनु छेत्रीले एसडीएफ सरकारमा छॅंदा आफु पनि किर्ते पर्चाको एक भुक्तभोगी रहेको बताइन्। तत्कालीन सत्ताधारी एसडीएफ पार्टीले विपक्षमा रहेको एसकेएमका हरेक नारी नेतृहरू विरुद्ध किर्ते पर्चा निकालेर चरित्र हनन् गर्ने कार्य गरेको उनले आरोप लगाइन्। त्यस समय एसडीएफ चेली मोर्चा क​हॉं थिए भन्दै उनले आफ्नो राजनीतिक रोटी सेक्न कैसको छोरीलाई हतियार बनाउन एसडीएफले बन्द गर्नुपर्छ भनिन्। उनले एसडीएफ चेली मोर्चालाई 25 वर्षे आफ्नो शासनमा के-कस्ता कार्यहरू भए एकपल्ट फर्केर नियाल्न सुझाउ पनि दिइन्।

यसैगरी, एसकेएम नेतृ शीला वाङ्गछेनले आफु पनि एसडीएफ पार्टीको किर्ते पर्चाको पीडित रहेको बताउॅंदै बिना ठोस प्रमाण एसकेएममाथि आरोप नलगाउन सुझाउ दिइन्। उनले एसडीएफ नेतृ सकुन गुरुङलाई यदि उनलाई आरोपी व्यक्तिबारे जानकारी छ भने नाम बताउन चुनौती दिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande