
खड़गपुर (पश्चिम मेदिनीपुर), 29 अक्टोबर (हि.स.)। जिल्लाको मोहनपुर पुलमाथि बुधवार मध्यान्ह लगभग 12 बजे भएको भयानक सड़क दुर्घटनामा खड़गपुर निवासी असिम दासको मृत्यु भयो भने निर्मल पाल जो खड़गपुर तृणमूल कंग्रेसका पूर्व चेयरम्यान जौहर पालका पुत्र हुन्, गम्भीर रूपमा घाइते भए।
जानकारी अनुसार दुवै मोटरसाइकलमा सवार भएर मेदिनीपुर गइरहेका थिए। भनिन्छ, निर्मल पाललाई डायलिसिसको लागि अस्पतालमा लगिँदैथ्यो भने मोटरसाइकललाई असिम दासले चलाइरहेका थिए। यसै क्रममा पछिबाट एउटा द्रूत गतिको लरीले उनीहरूको बाइकलाई ठक्कर दियो जसले गर्दा दुवै सड़कमा लड़े। स्थानीय मानिसहरूको सहयोगमा दुवैलाई मेदिनीपुर मेडिकल कलेज एवं अस्पतालमा लगियो, तर डाक्टरहरूले असिम दासलाई मृत घोषित गरिदिए भने निर्मल पालको अवस्था गम्भीर छ।
दुर्घटना भएको खबर पाउनसाथ जिल्ला तृणमूल नेता जौहर पाल, सुजय हाजरा, प्रदीप सरकार तथा स्थानीय पार्षद सहित केही मानिसहरू मेडिकल कलेजमा पुगे अनि स्थितिको जानकारी लिए। दुर्घटनापछि लरी चालक वाहनसितै भाग्यो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर भगौड़ा चालकलाई खोज्न शुरू गरेको छ।
एमकेडीएका उपाध्यक्ष प्रदीप सरकारले भने, घटनाको कारणले सम्पूर्ण खड़गपुर अनि वरपरका क्षेत्रहरूमा शोक व्याप्त भएको छ। जौहर पाल खड़गपुरका वरिष्ठ नेताहरूमध्ये एक हुन्। स्थानीय तृणमूल नेताहरूले दोषी चालकलाई शीघ्र पक्राउ गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा