
बक्सर, ३० अक्टोबर (हि.स.)। बिहार विधानसभाको चुनाउमा मगध र शाहाबाद जस्ता महत्वपूर्ण क्षेत्रहरूमा एनडीएलाई बढत दिलाउन उत्तर प्रदेशका थुप्रै वरिष्ठ भाजपा नेताहरूलाई जिम्मेवारी दिइएको छ। तीमध्ये एक हुन् यूपीका यातायात मन्त्री दयाशंकर सिंह, जसले दाबी गरेका छन् कि यसपालि मगध र शाहाबाद क्षेत्रमा ३५ देखि ४० सिटसम्म एनडीएले जित्नेछ।
चुनावी रणनीतिमा निपूर्ण दयाशंकर सिंह अहिले एनडीए उम्मेदवारहरूको समर्थनमा दिनरात सक्रिय छन्। उनी पार्टीका शीर्ष नेताहरूका चुनावी सभाहरूको तयारीमा र एनडीएका उम्मेदवारहरूको पक्षमा माहोल बनाउन रणनीति तय गर्न व्यस्त छन्।
हिन्दुस्थान समाचारसँगको कुराकानीमा उनले भने, “तेजस्वी यादव केवल एमवाई (मुस्लिम-यादव) समीकरणको भरमा ‘मुंगेरी लालका सपना’ देखिरहेका छन्, तर बिहारमा सबै जाति र वर्गका मानिसहरू एनडीएको पक्षमा एकजुट भएका छन्।”
उनका अनुसार, यसको प्रमुख कारण प्रधानमन्त्री नरेन्द्र मोदी हुन्, जसले गत १०–११ वर्षमा बिहारलाई ठूला–ठूला परियोजनाहरू दिएका छन्। यसले बिहारलाई विकासको बाटोमा अघि बढाएको छ।
दयाशंकर सिंहले भने, “मुख्यमन्त्री नीतीश कुमारले लागू गरेको मद्यनिषेध नीति र महिलाहरूको खातामा रकम पठाउने योजनाले महिलाहरूको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। साथै, नीतीश सरकारको बिजुली आपूर्तिमा भएको सुधार अभूतपूर्व छ।”
उनले थपे, “नीतीशले बिहारलाई लालु–राबडी शासनकालको गुण्डाराजबाट बाहिर निकालेका छन्, जसले जनतालाई सन्तुष्ट बनाएको छ। यसको विपरीत, राजद नेतृत्वको महागठबन्धन दिशाहीन र वैचारिक रूपमा कमजोर छ। जस कांग्रेससँग लालु यादवले आपतकालमा संघर्ष गरेका थिए, आज त्यही पार्टीसँग हात मिलाएका छन्। मुकेश सहनीलाई महागठबन्धनले टिकट नै नदिएको घटनाले उनीहरूको विरोधाभास देखाउँछ। बिहारका जनताले यस्तो गठबन्धनलाई अस्वीकार गर्नेछन्।”
बक्सरमा प्रवासरत दयाशंकर सिंहले भने, “हामी गाउँ–गाउँ पुगिरहेका छौं। यसपालि मगध र शाहाबादका ४८ सिटमध्ये ३५ भन्दा बढी सिट एनडीएको पक्षमा आउनेछन्। यी दुवै क्षेत्र नै बिहारमा एनडीए सरकारको केन्द्र बिन्दु बन्नेछन्।”
उनले भने, “पछिल्लो चुनाउमा शाहाबाद क्षेत्रमा एनडीएलाई मात्र दुई सिट प्राप्त भएको थियो। तीमध्ये पनि आरा जिल्लाको तरारी र बक्सरको रामगढ सिट उपनिर्वाचनमा एनडीएको पक्षमा आएको थियो।”
हिन्दुस्थान समाचार / भवानी थामी