कट्टा, क्रूरता, कटुता, कुशासन र करप्शन राजद-कांग्रेस गठबन्धनको पहिचान : मोदी
PM modi


पटना, ३० अक्टोबर (हि.स.)। बिहारको मुजफ्फरपुर जिल्ला, मोतीपुरमा बिहिबार आयोजित चुनावी सभामा प्रधानमन्त्री नरेन्द्र मोदीले राजद–कांग्रेस गठबन्धनमाथि तीव्र प्रहार गर्दै भने, यी दलहरूलाई पाँच शब्दले चिनिन्छ, कट्टा (हथियार), क्रूरता, कटुता, कुशासन र करप्शन (भ्रष्टाचार)।

मोदीले भने, “जहाँ कट्टा बोल्छ, त्यहाँ कानुन बस्दैन। जहाँ क्रूरताले शासन गर्छ, त्यहाँ जनताको विश्वास टुट्छ।” उनले महागठबन्धनले बिहारलाई अराजकता र भ्रष्टाचारको बाटोमा डोर्याएको आरोप लगाउँदै भने, जनताले अब सबै कुरा बुझिसकेका छन् र विकासको बाटोबाट अब कसैले उनीहरूलाई भड्काउन सक्दैन।'

प्रधानमन्त्री मोदीले आरोप लगाए, 'कांग्रेस र राजदका नेताहरू छठी मइयाको अपमान गर्दैछन्।' उनले भने, “के कुनैले भोट पाउनको लागि छठी मइयाको अपमान गर्न सक्छ? के बिहारका, के भारतका आमाहरू जसले निर्जला व्रत बस्छन्, उनीहरूले यस्तो सहन गर्न सक्छन्?”

मोदीले भने, “छठ पर्व आज विश्वभर मनाइन्छ। यसको गीत सुन्दा हामी भावविभोर हुन्छौं। सरकारको तर्फबाट छठ पर्वलाई युनेस्कोको सांस्कृतिक सूचीमा सामेल गराउने प्रयास भइरहेको छ। छठका गीतहरूले संस्कार र संस्कृति जोगाउँछन्। यी गीतहरूलाई देशव्यापी बनाउने उद्देश्यले विभिन्न भाषामा प्रतिस्पर्धा आयोजना गरिनेछ, जसबाट जनताले आफैं मनपर्ने गीत रोज्नेछन्। सबैभन्दा लोकप्रिय गीतका गायक र लेखकलाई अर्को वर्ष छठअघि सम्मानित गरिनेछ।”

राजद–कांग्रेस गठबन्धन र लालु यादवको शासनकालबारे बोल्दै प्रधानमन्त्रीले भने, “त्यो जंगलराजमा गाडीका शोरूमहरू बन्द हुन थालेका थिए। राजदका नेताहरू आफ्ना समूहका साथ शोरूम लुट्थे। जसले नयाँ गाडी किन्थे, तिनका पछाडि राजदका गुन्डा लाग्थे। यस्तो अवस्थाले आम मानिसहरू पलायन गर्न बाध्य भए।”

मोदीले २००१ को गोलू अपहरण काण्ड सम्झँदै भने, “त्यो बेला अपराधीहरूले विद्यालय जाने सानो बालक गोलूको अपहरण गरे र फिरौती मागे। नदिँदा राजदका गुण्डाहरूले त्यस निर्दोष बालकको हत्या गरे। राजदको शासनमा अपहरण, हत्या र आतंक सामान्य थियो।” प्रधानमन्त्रीले भने, “हाम्रो गीतहरू हात जोडेर ‘विकासका’ सन्देश दिन्छन्, तर उनीहरूको नारा छ, छर्रा, कट्टा, दुईनाली। यसले नै तिनीहरूको मानसिकता देखाउँछ।”

मोदीले भने, “जब सुशासन हुन्छ, तब सबै फुल्छन्, जब जंगलराज हुन्छ, तब सास बन्द हुन्छ। आज बिहार जीएसटी बचत उत्सव मनाइरहेको छ। मानिसहरूले नयाँ बाइक, स्कूटी किन्न थालेका छन्। गत वर्ष अक्टोबर–सेप्टेम्बरमा जहाँ बिहारमा ५० हजार मोटरसाइकल बिक्री भएको थियो, यस वर्ष १.५ लाख बिक्री भएको छ — तीन गुणा बढी।”

उनले भने, “आज बिहारको मखाना संसारभर पुग्दैछ, फूड प्रोसेसिङ, आईटी पार्क, लेदर क्लस्टर, यी सबै अब बिहारको पहिचान बनेका छन्। पहिले बिहारले माछा बाहिरबाट मगाउँथ्यो, आज अरू राज्यहरूलाई पठाइरहेको छ, यो नै आत्मनिर्भरताको उदाहरण हो।”

मोदीले एनडीएको संकल्प दोहोर्याउँदै भने, “हाम्रो लक्ष्य हो — कमाई, दवाई, पढाई र सिंचाई बिहारमै। अब बिहारको छोरो रोजगारीका लागि बाहिर जाने छैन, आफ्नै राज्यमा काम गर्नेछ।”

अन्त्यमा उनले भने, “फेरि एकपटक बिहारमा राजग (एनडीए) गठबन्धनको सरकार बन्नेछ। जब म मुजफ्फरपुर आउँछु, यहाँको मिठासले मन लोभ्याउँछ। यहाँको लीची जति मीठो छ, त्यति नै मीठो यहाँका मानिसहरूको बोली पनि छ।”

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande