
नयाँ दिल्ली, ३० अक्टोबर (हि.स.)। भारतका केन्द्रिय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले मंगलबार नयाँ दिल्लीको वाणिज्य भवनमा आयोजित बैठकमा निर्यात प्रवर्द्धन परिषदहरू र उद्योग संगठनहरूसँग भेटघाट गर्दै चालू आर्थिक वर्ष २०२५–२६ को पहिलो छमाहीमा भएका सुधारहरू, निर्यात प्रदर्शन तथा आगामी सुधार उपायहरूबारे विस्तृत छलफल गरे।
गोयलले भने, सरकारले भारतीय निर्यातकर्ताहरूलाई वैश्विक बजारमा सहज पहुँच दिलाउन र व्यापार सजिलो बनाउन निरन्तर प्रयास गरिरहेको छ। उनले उद्योग क्षेत्रलाई विश्वास दिलाउॅंदै सरकारले अनुकूल व्यापारिक वातावरण बनाउनका लागि सबै सम्भावित कदमहरू उठाइरहेको बताए।
यस बैठकमा वाणिज्य विभाग, राजस्व विभाग, उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग, विदेश व्यापार महानिर्देशालय, विभिन्न निर्यात परिषदहरू र मुख्य उद्योग संगठनहरूका प्रतिनिधिहरू उपस्थित थिए। छलफलका क्रममा निर्यात विविधीकरणका उपलब्धि, उद्योग क्षेत्रका चुनौतीहरू र भविष्यका सम्भावनाहरूमाथि विचार–विमर्श गरियो।
भारतीय निर्यात सङ्गठन महासंघका साथै वस्त्र, इन्जिनियरिङ्ग, रत्न तथा गहना, चिकित्सा उपकरण, औषधि, सेवा, हस्तकलाहरू, दूरसञ्चार, चमडा, सवारी साधन र सूचना प्रविधि क्षेत्रका प्रतिनिधिहरूले मन्त्रालयका प्रयासहरूको प्रशंसा गरे। उनीहरूले भने, वाणिज्य मन्त्रालयको पहलका कारण भारतीय निर्यातकर्ताहरूका लागि नयाँ बजारका अवसरहरू खुल्दै छन्।
यस बैठकमा भारतीय उद्योग परिसंघ, फिक्की, पीएचडी वाणिज्य तथा उद्योग मण्डल, एसोच्याम, न्यास्कम र भारतीय सवारी साधन निर्माता सङ्घ लगायतका प्रमुख उद्योग संगठनका प्रतिनिधिहरू पनि सहभागी थिए।
हिन्दुस्थान समाचार / भवानी थामी