खरसाङ, 5 अक्टूबर (हि.स.)। रातभरि परेको भारी वर्षाले खरसाङको रोहिणी रोड ( सुवास घिसिङ मार्ग) मा पैह्रो गएको छ, जस कारण यातायात बन्द भएको छ। यस स्थानमा केही दिन अघिदेखि सडक चर्केको अवस्थामा रहेको थियो भने आज पैह्रोले रोहिणी रोडको आधा भाग नै झरेको छ।
खरसाङको गौरी शंकर चियाबारीको खेल मैदानदेखि केही मुनिपट्टि रहेको रोहिणी रोड केही दिन अघिदेखि नै चर्किएको अवस्थामा रहेको थियो भने रातभरि परेको भारी वर्षाले रोडको आधा भाग नै लगेको छ। यो पैह्रोले गर्दा दार्जिलिङ र खरसाङ क्षेत्रबाट सिलगढी आवागमनको माध्यम नै बन्द भएको छ। पैह्रो गएपछि रोहिणी रोडमा केवल दुई चक्के वाहनहरु जस्तै बाइक र स्कुटीहरु मात्र छिर्न सक्ने देखिएको छ भने चार चक्के वाहनहरु कुदाउन नसक्ने अवस्थामा छ।
रोहिणी रोडमा पैह्रो गएपछि अब गाडीहरु राष्ट्रिय राजमार्ग 110 र पंखाबारी रोड भएर कुदाउन सकिने छ। रोहिणी रोडको पैह्रोले गर्दा गाडीहरु पंखाबारी रोड अनि राष्ट्रिय राजमार्ग 110 (पहिला राष्ट्रिय राजमार्ग 55) महानदी, घैयाबारी र तीनधारे भएर चल्न सक्ने खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्रीले बताएका छन्। उनले रोहिणी रोडमा पैह्रो गएपछि ट्राफिक पुलिसको तर्फबाट पैह्रोको दुवैपट्टि ट्राफिक बेरीकेड लगाइएको र पैह्रोमा दुईजना ट्राफिक पुलिस पनि राखिएको बताएका छन्। उनले रोहिणी रोडमा पैह्रो गएपछि खरसाङको हनुमान डाँडा भएर राष्ट्रिय राजमार्ग 110 भएर गाडीहरु कुद्न सक्ने पनि बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक