
कोलकाता, 13 नोभेम्बर (हि.स.)। भूमिगत जीवन व्यतित गरिरहेका कामतापुर लिबरेशन अर्गनाइजेशन (केएलओ)- का प्रमुख जीवन सिंहले एक भीडियो सन्देश जारी गरी राजवंशी समुदायसित पश्चिम बंगालमा आगामी वर्ष हुने विधानसभा चुनाउमा तृणमूल कंग्रेसलाई पराजित गर्ने अपील गरेका छन्।
बिहिवार जारी भीडियो सन्देश मीडियाका केही वर्गहरूमा प्रसारित भयो जसमा जीवन सिंहले तृणूल कंग्रेसका विधायक अनि सांसदहरूसित अपील गरेका छन्, उनीहरूले तत्काल पार्टीसित सम्बन्ध विच्छेद गरेर ममता ब्यनर्जी सरकारलाई सत्ताच्युत पार्नमा अग्रणी भूमिका निर्वाह गरुन्। भीडियोमा यो पनि भनेको सुन्न सकिन्छ, राजवंशीहरूविरूद्ध यस सरकारको लागि काम गर्न बन्द गरेर पार्टीलाई छोड़िदिउन्। तथापि हिन्दुस्तान समाचार-ले यस भीडियोको पुष्टि गर्दैन।
राजवंशी समुदायको उत्तर बंगालका केही जिल्लाहरू अधिनस्थ विधानसभा सीटहरूमा महत्वपूर्ण प्रभाव रहिआएको छ जहाँ वर्ष 2019-को लोकसभा चुनाउपछि भारतीय जनता पार्टी (भाजपा)-लाई तृणमूल कंग्रेसको तुलनामा सफलता हासिल हुँदै आएको छ।
जीवन सिंहले तृणमूल कंग्रेसविरूद्ध यसरी सन्देश जारी गरेको यो पहिलो अवसर होइन। वर्ष 2023- को त्रिस्तरीय पञ्चायत चुनाउपूर्व पनि उनले एक भीडियो सन्देश जारी गरी राजवंशी समुदायसित तृणमूल उम्मेद्वराहरूलाई भोट नदिने अपील गरेका थिए।
केएलओ प्रमुखले आरोप लगाएका थिए, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले लगातार पृथक कामतापुर राज्यको मागको विरोध गरिरहेकी छन् अनि सत्तासिन दलका नेताले राजवंशी मानिसहरूमाथि दमन गरेर यस आन्दोलनलाई दबाउने चेष्टा गरिरहेको छ।
केएलओद्वारा प्रस्तावित पृथक कामतापुर राज्यमा उत्तर बंगालको कुचबिहार, दार्जिलिङ, जलपाइगढ़ी, अलिपुरद्वार, मालदा, उत्तर दिनाजपुर र दक्षिण दिनाजपुर जिल्ला अतिरिक्त असमका कोकराझार, बोंगाईगाउँ, धुबरी र गोलपाड़ा जिल्ला, बिहारको किशनगञ्ज लगायत छिमेकी देश नेपालको झापा जिल्लालाई पनि सामेल गर्ने प्रस्ताव छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा