नाम्चीमा जनजातीय गौरव दिवस पालन गरियो
नाम्चीमा जनजातीय गौरव दिवस पालन गरियो


नाम्ची, 15 नोभेम्बर (हि.स.)। भगवान बिरसा मुण्डाको 150औं जयन्तीको अवसरमा आज नाम्चीको टाउन हलमा जनजातीय गौरव दिवस पालन गरियो। भारत सरकारको जनजाति मामिला मन्त्रालय अन्तर्गत राज्य सामाजिक कल्याण विभागले नाम्ची जिल्ला प्रशासनको संयुक्त तत्वावधानमा आयोजना गरेको यस कार्यक्रममा नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राई मुख्य अतिथि थिए।

यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भाषणको प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा सिक्किमको विभिन्न जनजाति समुदायका पॉंच जना उल्लेखनीय कार्य गर्ने व्यक्तिहरूलाई सम्मानित गरियो। उनीहरूले आफ्नो समुदायको उत्थान र सशक्तिकरणको लागि दिएको योगदानको कदर गर्दै मुख्य अतिथिको बाहुलीद्वारा सम्मान पत्र र वित्तीय सहायता प्रदान गरियो।

सम्मानित व्यक्तिहरूमा शिक्षक उगेन पाल्जोर भोटिया, लाइब्रेरियन डा. दिना सुब्बा, फूल कृषक निम डोमा शेर्पा, वाद्यवादक सोनाम दावा लेप्चा र लेखक तेन्जिङ तामाङ सामेल छन्। यस कार्यक्रम अघि एकता मार्च आयोजना गरिएको थियो, जसमा विधायक राई लगायत गणमान्य व्यक्तिहरू, वरिष्ठ अधिकारीहरू, एनएसएस र एनसीसी स्वयंसेवकहरू, विद्यार्थीहरू आदि सहभागी बने।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande