सुंगुर पालनद्वारा आत्मनिर्भर बनेका सञ्जय पोर्तेल गाउँ घरमै केही गर्न सकिन्छ भन्ने‌ उदाहरण बन्दै
सञ्जय पोर्तेल


खरसाङ, 15 नोभेम्बर (हि.स.)। सुंगुर पालनमा रोजगारको अवसर सिर्जना गर्दै युवाहरुको लागि प्रेरणाको स्रोत बनेका छन् तीनधारेको लालमाट्टी निवासी सञ्जय पोर्तेल। युवा सञ्जय पोर्तेलले विगत केही वर्षदेखि यता सुंगुर पालनमा राम्रो आय आर्जन गरेर आफ्नै गाउँ घरमा मेहनत र परिश्रम गरे केही गर्न सकिन्छ र रोजगार आफै सिर्जना गर्न सकिन्छ भन्ने‌ उदाहरण पेश गरेका छन्।

तीनधारेको मिठाईडाँडास्थित खेल मैदानदेखि केही मुनिपट्टि रहेको लालमाट्टी गाउँमा स्थित आफ्नै घरमा सञ्जय पोर्तेलले सुंगुर पालन शुरु गरेर आत्मनिर्भर बनेका छन्। उनले हाल सुंगुरका चारवटा माऊहरु पालेका छन्, जसले वर्षमा दुईपल्ट बच्चाहरु जन्माउँछन् र सुंगुरका बच्चाहरु राम्रै दाममा बिक्री हुने गरेको उनी बताउॅंछन्।

सञ्जय पोर्तेलले बताए, सुंगुरका बच्चाहरु राम्रै दाममा बिक्री हुन्छ र सुंगुरले‌ बच्चा जन्माउन अघि नै सबै बच्चाहरु बुकिङ हुन्छ। तर, उनले बच्चा दुई महिनाको भएपछि मात्र बिक्री गर्ने गरेको र सबै बच्चाहरुलाई भ्याक्सिन गरेर मात्र बिक्री गर्ने गरेको बताएका छन्। उनले सुंगुरको एउटा बच्चा छ हजार रुपियाँमा बिक्री हुने गरेको र आफ्नोमा अहिले 21 वटा सुंगुरका बच्चाहरु रहेको जानकारी गराए।

उनले सुंगुर पालनमा वर्षमा नभनेको पनि पाँचदेखि साँढे पाँच लाखसम्मको आय आर्जन हुने बताए। अहिले आफुसॅंग 4 वटा सुंगुरका माऊहरु भए पनि 10 वटासम्म पाल्ने योजना रहेको बताए, किनभने एउटा माऊले 12 देखि 18 वटासम्म बच्चाहरू जन्माउने गर्छन्। यस हिसाबले सुंगुर पालनमा राम्रो आय आर्जन गर्न सकिने उनले बताएका छन्‌। उनले सुंगुर पालनको व्यवसाय एकदमै मेहनतका साथ सफा‌ ठाउँमा गर्नुपर्ने र यसो गर्दा सुंगुर पनि स्वस्थ रहने बताए।

सुंगुर पालन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सञ्जय पोर्तेलले भने, 'गाउँ घरमा नै बसेर पनि केही गर्न सकिन्छ। आफ्नोमा‌ मेहनत र परिश्रम गर्ने क्षमता छ भने सुंगुर पालनमा पनि राम्रो आय आर्जन गरेर सजिलै रोजगार कमाउन सकिन्छ। युवाहरु काम गर्न बाहिर जान्छन्, विदेशतिर पनि जान्छन् तर आफ्नै ठाउँमा मेहनत र परिश्रम गरे यही रोजगारी कमाउन सकिन्छ।'

उनले सुंगुर पालन विषयमा अघि भने, 'सुंगुर पालन व्यवसाय पनि युवाहरुको लागि रोजगारीको राम्रो अवसर हो। किनभने सुंगुर पालनमा सुंगुरका बच्चाहरु राम्रै दाममा बिक्री हुन्छ र बच्चा लगायत मासु पनि राम्रै बिक्री हुने गरेको छ। यस कारण युवाहरुले चाहे आफ्नै ठाउँमा नै केही गर्न सक्छन्।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande