
हैदराबाद, १७ नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सी.पी. राधाकृष्णनले भने, रामोजी राव एक दूरदर्शी राष्ट्र निर्माता थिए। उनले विचारहरूलाई संस्थानमा र सपनाहरूलाई स्थायी वास्तविकतामा रूपान्तरण गरे। उपराष्ट्रपति आज हैदराबादको रामोजी फिल्म सिटीमा आयोजित पहिलो रामोजी एक्सीलेन्स अवार्ड्स २०२५ कार्यक्रममा प्रमुख अतिथि रूपमा सहभागी भए। यो कार्यक्रम रामोजी समूहको स्थापना दिवस र संस्थापक रामोजी रावको जयन्तीका अवसरमा आयोजित गरिएको थियो।
यस अवसरमा सात श्रेणीहरू—ग्रामीण विकास, युवा आइकन, विज्ञान र प्रविधि, मानव सेवा, कला र संस्कृति, पत्रकारिता र वुमन अचिभर्स—मा पुरस्कार प्रदान गरियो। सम्मानित व्यक्तिहरू मध्ये अमला आशोक रूइया, श्रीकान्त बोला, प्रो. माधवी लता गाली, आकाश टण्डन, प्रो. सत्यपति प्रसन्ना स्री, जयदीप हार्डीकर र पल्लबी घोष सामेल थिए।उपराष्ट्रपति राधाकृष्णनले भने, रामोजी राव सञ्चार र मिडिया क्षेत्रका अगुवा थिए, जसले इनाडु पत्रिकादेखि लिएर रामोजी फिल्म सिटी र ईटीभी नेटवर्कसम्म भारतीय पत्रकारिता, मनोरञ्जन र उद्यमशीलतालाई नयाँ दिशा दिएका थिए। यी पुरस्कारहरूले त्यस्ता व्यक्तिहरूलाई सम्मानित गर्छन्, जसले उत्कृष्टता, प्रेरणा र सामाजिक परिवर्तनको भावना अगाडि बढाउँछन्।
उनले मिडियालाई देशलाई ‘विकसित भारत २०४७’ को लक्ष्यतर्फ लैजान सहयोगी बन्न आग्रह गर्दै सत्य, नैतिकता र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए, खासगरी यस्तो समयमा जब सूचनाको अतिशयता र गलत जानकारी तीव्र गतिमा फैलिँदै छ।उपराष्ट्रपतिले भने, प्रेस लोकतन्त्रको चौथो स्तम्भका रूपमा नागरिकहरूलाई जानकारी गराउने महत्त्वपूर्ण माध्यम हो, र यसले सत्य, निष्पक्षता र वस्तुनिष्ठताको आधारमा काम गर्नुपर्छ। उनले ‘ड्रग फ्री भारत’ अभियानलाई प्रोत्साहन दिन र एआईको युगमा फेक न्युजको पहिचान गराउन मिडियाको भूमिकाबारे पनि जोड दिए।कार्यक्रममा तेलंगानाका राज्यपाल जिष्णु देव वर्मा, पूर्व उपराष्ट्रपति एम. वेंकैया नायडू, तेलंगानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू, केन्द्रिय मन्त्री जी. किशन रेड्डी र किन्जारापु राममोहन नायडू, पूर्व मुख्य न्यायाधीश एन. वी. रमन्ना, रामोजी समूहका सीएमडी किरोनलगायत धेरै चलचित्र क्षेत्रका हस्तीहरू र अन्य व्यक्ति उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी