
कोलकाता, 18 नोभेम्बर (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)-ले पश्चिम बंगालका मन्त्री सुजीत बसुकी छोरी मोहिनी बसुसित नगरपालिका नियुक्ति भ्रष्टाचार मामिलाको सिलसिलामा लगातार जाँचबुझ गरिरहेको छ। यसै परिप्रेक्ष्यमा मंगलवार अपरान्ह आफ्ना अधिवक्ताको साथमा उनी स्लटलेकस्थित ईडी कार्यालयमा पुगिन्।
यसको एक दिनपूर्व मात्र ईडीले दमकल मन्त्रीका ज्वाईँसित कैयौं घण्टासम्म जाँचबुझ गरेको थियो जसको लगत्तै पछि महोनी बसुसित जाँचबुझ गरिनुलाई अत्यन्त महत्वपूर्ण मानिँदैछ। ईडीले अहिलेसम्ममा यस मामिलामा शहरका धेरै वटा ठेगानाहरूमा छापामारी गरिसकेको छ। सुजीत बसुको सल्टलेकस्थित घर अनि कार्यालयमा पनि खोजी अभियान संचालन गरिएको थियो। यस अतिरिक्त उनकी छोरीको रेस्तराँमा पनि जाँच अधिकारीहरूले खानतलासी गरेका थिए। लामो समयसम्म चलेको यस कारबाहीमा ईडीले ठूलो संख्यामा दस्तावेज अनि नगद जफत गरेको छ। त्यसपछि ईडीले पछिल्लो सप्ताह मन्त्रीकी पत्नी, छोरी र छोराली समन पठाएर सम्बन्धित कागजपत्र अनि ऋणको दस्तावेज लिएर उपस्थित हुने निर्देश दिएको थियो। मोहिनी बसु सबै दस्तावेजहरू बोकेर जाँच कार्यालयमा पुगिन्।
सूत्र अनुसार जाँचबुझ कैयौं घण्टादेखि जारी छ। जाँच एजेन्सीले यो पत्तो लगाउने प्रयास गरिरहेको छ, पालिका नियुक्ति भ्रष्टाचारबाट प्राप्त धनको प्रयोग कुन-कुन क्षेत्रहरूमा गरियो। अधिकारीहरूलाई सन्देह लागेको छ, यस धनको निवेश होटल व्यवसायमा पनि गरिएको हुनसक्छ। यसै पक्षको विस्तृत जानकारी हासिल गर्नको लागि ईडीले मन्त्रीकी छोरीलाई बोलाेको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा