खरसाङको दीर्घकालीन खेल मैदानको समस्याबारे चर्चा सभा सम्पन्न, सबै खेल संस्थाहरु मिलेर पहल गर्ने
खेल मैदान


खरसाङ, 18 नोभेम्बर (हि.स.)। खरसाङ अनि वरिपरि क्षेत्रका खेल प्रेमीहरूलाई लिएर खरसाङ ब्याडमिन्टन एसोसिएशन हलमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा खरसाङको दीर्घकालीन खेल मैदानको समस्याबारेमा चर्चा गरियो। सभामा खरसाङ ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष प्रेमेन्द्र गुरुङ, अन्य प्रतिनिधिहरू विशाल आले, विश्वजीत रोयचौधुरी, भरत यल्मो, खरसाङ फुटबल एसोसिएशनका अध्यक्षव नर्बु शेर्पा अनि अन्य प्रतिनिधिहरू छिरिङ खाइबा, हिरेन तिखत्री, नीमा लामा, अशोक लामा, सुदिप राई, युनाइटेड खरसाङफुटबल क्लबका प्रतिनिधिहरू गोपाल छेत्री, विशाल शर्मा, रोहिणी फुटबल क्लबका प्रतिनिधि राजा राई, खरसाङ गर्ल्स फुटबल क्लबका प्रतिनिधि रिचा बाला छेत्री, हिल रेफरीस एसोसिएशनका प्रतिनिधि अरविन्द छेत्री उपस्थित रहेका थिए। सभामा सबै सङ्घ-संगठनका प्रतिनिधिहरूले खरसाडमा खेल मैदान अति नै आवश्यक रहेको र यो विषय वर्तमानमा अति महत्त्वपूर्ण रहेको बताए। खरसाङमा खेल मैदानको अभाव रहेकोले खेलहरू आयोजना गर्दा खेल मैदानको निम्ति खरसाङदेखि चार-पाँच किलोमिटरको दुरीमा रहेको विद्यालय, चानबारीको सेनाको मैदान प्रयोगको निम्ति अनुमति प्राप्त भए पनि सोचे जस्तो ढड्गमा खेल आयोजना गर्न कठिन भइरहेको समस्याहरू सभामा अवगत गराइएयो। निकै लामो चर्चापछि उपस्थित प्रतिनिधिको सर्वसहमतिमा खेल मैदान मागको निर्माणको निम्ति संयुक्त रुपमा कार्य गर्न खरसाङ स्टेडियम निर्माण कमिटी गठन गरिने निर्णय गरियो। यस कमिटी वर्तमानमा सञ्चालनको निम्ति कार्यवाहकको रुपमा मुख्य संयोजक छिरिङ खाइबा अनि सह संयोजक सुदीप राईलाई चयन गरियो। सभामा आगामी दिनमा अझ खेलप्रेमी अनि सङ्घ-संस्थाहरूलाई समावेश गरेर पूर्णाङ्ग कमिटी गठन गरिने पनि निर्णय गरियो। सभामा खेल मैदानको मागलाई अघि बढ़ाउन प्रस्ताव पनि पारित गरियो।सभाको बारेमा जानकारी गराउँदै खरसाङ फुटबल क्लबका सचिव एवं खरसाङ स्टेडियम निर्माण कमिटीका सह संयोजक सुदीप राईले खरसाङमा खेल मैदानको समस्या दीर्घकालिन समस्या रहेको र यो समस्यालाई समाधान गर्न अथवा खरसाङमा एउटा सुविधा सम्पन्न खेल मैदान वा स्टेडियम निर्माणको मागलाई अघि बढ़ाउन खरसाङका विभिन्न सङ्घ- संस्थाहरूले आगामी दिनमा संयुक्त रुपमा कार्य गर्ने बताए ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande