महानदीमा‌ विश्व शौचालय दिवस पालन, प्लास्टिकमुक्त महानदी क्षेत्र बनाउन लुगाका झोलाहरु वितरण
Bags distribution


खरसाङ, 18 नोभेम्बर (हि.स.)। महानदी ग्राम पञ्चायत क्षेत्रमा विश्व शौचालय दिवस अन्तर्गत महानदी क्षेत्रमा विभिन्न सचेतना कार्यक्रम सम्पन्न भएको छ। 10 देखि 19 नोभेम्बरसम्म विश्व शौचालय दिवस पालन गरिन्छ।

यसै क्रममा मंगलबार महानदी ग्राम पञ्चायतको आयोजनामा स्वच्छ र प्लाष्टिकमुक्त महानदी बनाउन विभिन्न सचेतना कार्यक्रम आयोजना गरियो। यस अवसरमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा, पञ्चायत सचिव पेन्छेन तामाङ, पञ्चायतकर्मीहरु, स्वनिर्भर दलहरु, भीबीडीका सदस्याहरु उपस्थित रहेका थिए। यस अवसरमा महानदी क्षेत्रलाई प्लास्टिकमुक्त बनाउन महानदी क्षेत्रमा प्लास्टिकहरु र मैलाहरु नफ्याँकियोस् भनेर महानदी क्षेत्र भएर कुद्ने गाडीहरुमा लुगाका झोलाहरु वितरण गरियो।

उक्त लुगाका झोलाहरु महानदी ग्राम पञ्चायत र स्वनिर्भर दलहरुको संगठन महानदी संघको तर्फबाट निर्माण गरिएको हो। उक्त लुगाका झोलाहरु महानदी ग्राम पञ्चायतको प्रधान र सचिवको उपस्थितिमा स्वनिर्भर दलहरु र भीबीडीका सदस्याहरुले वितरण गरेका थिए। महानदी बजारमा सचेतना कार्यक्रम पनि सम्पन्न भयो, जसमा महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा र सचिव पेन्छेन तामाङले सचेतना गराए।

यस अवसरमा महानदी बजारमा सचेतना र्यालीको पनि आयोजना गरिएको थियो। विश्व शौचालय दिवस बुधवार पनि पालन गरिने र प्लाष्टिकमुक्त महानदी क्षेत्र बनाउन लुगाको झोलाहरु वितरण कार्य जारी रहने भएको जानकारी प्राप्त भएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande