शब्द समय टोलीद्वारा साहित्यिक भ्रमण, कवि गोष्ठी र हनोक थापालाई सम्मान
Sabd samay


खरसाङ, 18 नोभेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङ एकमा रहेको एक होम स्टेमा साहित्यिक भेटघाट साथै सम्मान कार्यक्रम सम्पन्न भयो। शब्द समय सालबारीका वरिष्ठ साहित्यकारहरुका समूहले सिटोङ क्षेत्रको भ्रमण साथै सिटोङमा साहित्यिक कार्यक्रम सम्पन्न भएको हो।

यसै कार्यक्रममा शब्द समयको तर्फबाट कवि एवं पत्रकार हनोक थापालाई सम्मान जनाइयो। उनलाई उपस्थित साहित्यकारहरु र अतिथिहरुका‌ बाहुलीबाट खदार्पणसहित वरिष्ठ साहित्यकारद्वव ज्ञानेन्द्र खतिवडा र मोहन ठकुरीको बाहुलीबाट उपहार प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाले वक्तव्य राख्दै यस कार्यक्रमको उद्देश्य विषयमा बताएका थिए।

यस अवसरमा एक साहित्यिक कार्यक्रम पनि सम्पन्न भयो। यस साहित्यिक कार्यक्रमलाई शब्द समयको संयोजक जीत सुनारले सञ्चालन गरेका थिए। यस साहित्यिक कार्यक्रममा वरिष्ठ साहित्यकारहरु क्रमैले मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, मणिकुमार प्रधान, लीलबहादुर सुनार, निर्मल प्रधान, डा हेमन्त काफ्ले, जीत सुनार, सिक्किमबाट आएका रमेश रुबेन राई, शरण शरद, सन्ध्या आचार्य, हनोक थापा आदिले कथा, कविता, गीत वाचन गरेका थिए। कार्यक्रममा युवा गीतकार एवं संगीतकार मौसम नेवार पनि उपस्थित रहेका थिए‌।

उल्लेखनीय छ, यो शब्द समय सालबारीको‌ कुनै प्रकरण नभएर केवल साहित्यिक स्रष्टाहरुको सिटोङ भ्रमण, भेटघाट र कवि गोष्ठी साथै सम्मान कार्यक्रम रहेको थियो। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाले शब्द समय सालबारीको 147 औं प्रकरण समाप्त भएको छ र आगामी जनवरी महिनामा शब्द समयको 150 प्रकरण आयोजना गरिने जानकारी गराएका छन्। उनले सिटोङमा कुनै प्रकरण नभएर केवल साहित्यिक स्रष्टाहरुको सिटोङ भ्रमण, भेटघाट र साहित्यिक कवि गोष्ठी साथै सम्मान कार्यक्रम रहेको बताएका छन्‌। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।

यसै क्रममा शब्द समयको साहित्यिक टोलीले सिटोङमा रहेको तितस लेप्चा स्मृति पुस्तकालयको पनि भ्रमण गरेका थिए। उक्त भ्रमणको अवसरमा उपस्थित वरिष्ठ साहित्यकार समूहलाई तितस लेप्चा स्मृति पुस्तकालयको तर्फबाट खदार्पण गरेर स्वागत जनाए। कार्यक्रमलाई कवि एवं पत्रकार हनोक थापाले सञ्चालन गरेका थिए भने पुस्तकालयको तर्फबाट संरक्षणिका एंव कथाकार सन्ध्या आचार्यले सबैलाई स्वागत जनाउँदै तितस लेप्चा स्मृति पुस्तकालयको उद्देश्य र यसको कार्यहरु विषयमा बताएकी थिइन्।

यस अवसरमा साहित्यकार समूहको तर्फबाट एवं शब्द समयको तर्फबाट वरिष्ठ कवि मोहन ठकुरीले तितस लेप्चा स्मृति पुस्तकालयको भ्रमण गर्न पाएर खुसी लागेको बताउँदै भविष्यमा पुस्तकालयमा पुस्तकहरु पठाई दिने वचनबद्धता प्रकट गरेका छन्। यस अवसरमा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडा, डा हेमन्त काफ्ले, जीत सुनार, निर्मल प्रधान, लीलबहादुर सुनार, मौसम नेवार पनि उपस्थित रहेका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande