सिङ्गेल चियाबारीका पाँच अग्निपीडित परिवारका लागि नयाँ घरमा गृह प्रवेश
House inauguration


खरसाङ, 18 नोभेम्बर (हि.स.)।खरसाङ महकुमा अन्तर्गत सिङ्गेल चियाबारीको कफीबारी, गोदमधुरा क्षेत्रमा गत 15 मई, 2025 मा भएको भीषण आगलागीबाट पूर्ण रूपमा घर जलेर पीडित बनेका पाँच परिवारलाई पुनर्निर्माण पश्चात् नयाँ घरमा प्रवेश गराउने कार्यक्रम सम्पन्न गरिएको छ। आगलागीका क्रममा पाँचवटा घरहरु पूर्ण रूपमा नष्ट भएका थिए भने सबै दस्तावेज र व्यक्तिगत सामग्रीहरू जलेका थिए।

घटनापछि स्थलगत निरीक्षणका क्रममा जीटीए प्रमुख कार्यपाल अनित थापाले पाँचवटै घर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए। अनित थापाले त्यसबेला दिवस क्षेत्रीलाई सबै प्रभावित परिवारका कानुनी तथा परिचय सम्बन्धी कागजातहरू पुनः बनाउने जिम्मेवारी दिएका थिए। उक्त निर्देशन अनुसार 15 दिनभित्र आवश्यक कागजात तयार गरी प्रभावित परिवारहरूलाई हस्तान्तरण गरिएको थियो।

यस गृह प्रवेश कार्यक्रममा प्रमुख कार्यपाल थापाले आफ्नो वचन अनुसार सबै पाँच परिवारहरुलाई नयाँ घरमा पुनःस्थापित गर्न पाएको बताउँदै त्यसप्रति सन्तोष व्यक्त गरे। हाल ती परिवारका बालबालिकाहरू नियमित रूपमा विद्यालय जाने गरेका छन् भने अभिभावकहरू स्थानीय कमानमा श्रम कार्यमा संलग्न छन्।

एक अग्निपीडित महिलाले भनिन्, “मैले कमानमा यति वर्ष काम गरेर कमाएको रिटायरको पैसाले पनि यस्तो घर बनाउन सक्दिन थिएँ। आज यो सम्भव भएकोमा निकै खुशी लागिरहेको छ।”

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande