
पश्चिम मेदिनीपुर, 20 नोभेम्बर (हि.स.)। चन्द्रकोणा रोडस्थित व्यस्ततम माछा बजारमा गए बुधवार अबेर राती भयानक आगो लागेर भागाभाग भयो। आगो अत्यन्त द्रूत गतिमा फैलिएको कारणले हेर्दा-हेर्दै दोकानहरू जलेर खरानीमा परिणत भयो। व्यापारीहरूले लाखौं रुपियाँको क्षति भएको आशंका व्यक्त गरेका छन्।
स्थानीय सूत्र अनुसार गए अबेर राती बजारको मध्य भागमा अवस्थित एउटा दोकानमा सबैभन्दा पहिला धुँवा निक्लिरहेको देखियो। क्षणभरमै आगो अन्य दोकानहरूमा पनि फैलियो। भित्र कैयौं क्विन्टल माछा, बरफ, जेनरेटर, बिजुलीको लाइन, प्लास्टिकको सामग्री तथा दहनशील सामान राखिएको कारणले आगोले भयानक रूप धारण गऱ्यो। व्यापारीहरू अनुसार अत्यन्त द्रूत गतिमा फैलिएको कारणले सामानहरू निकाल्ने अवसरै पाइएन। केही दोकानदारहरूले भावुक हुँदै भने, एक रातमा सबै कुरा सिद्धियो--- जहाँबाट हाम्रो घर चल्थ्यो, त्यै आज जलेर स्वाहा भयो। अब कसरी चलाउने घर-परिवार?
सूचना पाए लगत्तै दमकलको वाहन तुरून्तै घटनास्थलमा पुग्यो अनि लगभग एक घण्टासम्म कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गऱ्यो। दहनशील सामग्री रहेको कारणले आगो निभाउन धेरै गाह्रो पऱ्यो।
दमकल अधिकारीहरूले बताए, आगलागीको कारण अहिले स्पष्ट भएको छैन, तर प्रारम्भिक अनुमानमा शर्ट सर्किट नै यसको कारण हुनसक्छ। स्थानीय मानिसहरूले भने, अबेर राती यस्तो भयानक आगो पहिला कहिल्यै देखेका थिएनौं। चारैतिर धुँवै-धुँवै थियो, आगो वरपरका घरहरूसम्म फैलिने डर पनि लागिरहेको थियो। आगोलाई निभाइए पनि धुँवा र जलेको सामानहरूको गन्धले सम्पूर्ण क्षेत्र अहिले पनि प्रभावित
भएको छ। पुलिसले सम्पूर्ण क्षेत्रलाई घेरेर जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा