जीटीए प्रमुख अनित थापाद्वारा खरसाङमा 200 करोड बराबरको अमृत 2.0 पिउने पानी परियोजनाको शिलान्यास
Anit thapa


खरसाङ, 22 नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट खरसाङ नगरपालिका क्षेत्रको लागि पिउने पानीको समस्या समाधान गर्न अमृत 2.0 पिउने पानी परियोजनाको शिलान्यास गरिएको छ। पश्चिम बंगाल सरकारको सहकार्यमा एमईडी सिलगढी र खरसाङ नगरपालिकाद्वारा अमृत 2.0 पिउने पानीको परियोजना खरसाङको मन्टिभियट खेल मैदानमा आयोजित शिलान्यास कार्यक्रमलाई खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीए प्रमुख अनित थापा उपस्थित रहेका थिए।

लगभग 200 करोड़को लागतमा निर्माण हुन लागेको उक्त अमृत 2.0 पिउने पानी परियोजनाको खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ र जीटीए प्रमुख अनित थापाको बाहुलीबाट संयुक्तरूपमा शिलान्यास गरियो।

कार्यक्रममा जीटीएको प्रमुख सल्लाहकार अमर लामा, पूर्व सांसद एवं हिल तृणमूल कांग्रेस नेत्री शान्ता छेत्री, सभासदहरु कल्पना प्रधान, अनोश थापा, श्याम शेर्पा, नुरी शेर्पा, खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, खरसाङ महकुमा शासक आईएएस प्रिया यादव लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस अमृत 2.0 पिउने पानी परियोजनाले खरसाङ नगरपालिका क्षेत्रमा पिउने पानीको आपूर्ति पूरा गरिने आशा व्यक्त गरिएको छ। यस परियोजनाको काम लगभग अढाई वर्षको समयावधिमा समाप्त हुने लक्ष्य राखिएको बताइएको छ।

यस पिउने पानीको परियोजना विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधानले जीटीए प्रमुख अनित थापा गत समयमा जीटीएको पीएचईको कार्यकारी सभासद हुँदा नै खरसाङको लागि पिउने पानीको आपूर्ति पूरा गर्ने संकल्प गरेका थिए अनि जीटीए प्रमुख भएपछि अहिले खरसाङ नगरपालिका क्षेत्रको पिउने पानीको समस्या पूरा गर्नलाई काम शुरू गरिएको बताए। उनले अमृत 2.0 को पिउने पानीको परियोजना बालासन नदीबाट पम्प गरेर तानेर अम्बटे, सिंगेलमा ठूलो ट्यांङ्की बनाइने र डाउहिलमा ठूलो ट्याङ्कीमा संकलन गरेर बजारमा वितरण गर्ने योजना रहेको बताए। पानीको आपूर्ति पूरा गरेपछि मीटर प्रणाली शुरु गरिने पनि उनले बताएका छन्‌।

भाइस चेयरम्यान सुवास प्रधानले खरसाङमा हुने अमृत 2.0 पिउने पानीको परियोजना 199 करोड 85 हजार बराबरको लागत खर्चमा‌ बनिने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande