
गान्तोक, 22 नोभेम्बर (हि.स.)। 41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 अन्तर्गत आज खेलिएको खेलमा डाइमण्ड हार्बरले प्रतिद्वन्दी इन्टर काशी एफसीलाई 3–1 गोलले पराजित गऱ्यो। यस जितका साथै डाइमण्ड हार्बर एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।
आज खेलिएको खेलमा विजेता दल डाइमण्ड हार्बर एफसीको तर्फबाट पहिलो गोल जर्सी नम्बर 10 नरोहरि श्रेष्ठले गरे। उनले उक्त गोल 33औं मिन्टमा गरेका थिए। यसैगरी, उनले खेलको 56औं मिनटमा पनि दोस्रो गोल गरे। डाइमण्ड हार्बरको तर्फबाट तेस्रो गोल जर्सी नम्बर 36 अकिब नवाबले 48औं मिनटमा गरेका थिए। अर्कोतिर, इन्टर काशी एफसीको तर्फबाट एकमात्र गोल जर्सी नम्बर 7 यमन शेरानले 47औं मिनटमा गरेका थिए।
विजयी दलका खेलाडी नरोहरि श्रेष्ठलाई म्यान अफ द म्याच चयन गरियो। आज स्टार मल, गान्तोकका सीईओ रूपेश चौधरी मुख्य अतिथि थिए। भोलि, चर्च बोइज युनाइटेड नेपाल र राजस्थान युनाइटेडबीच क्वार्टर फाइनलमा भिडन्त हुनेछ।
मुख्य अतिथि चौधरीले राज्यपाल स्वर्ण कप आयोजक सिक्किम फुटबल एसोसिएशनलाई रोयल इन्फिल्ड मोटरसाइकल प्रदान गरेका छन्। उक्त मोटरसाइकल 29 नोभेम्बर फाइनलका दिन म्यान अफ् द टुर्नामेन्टलाई प्रदान गरिने छ।
हिन्दुस्थान समाचार / बिशाल