
खरसाङ, 22 नोभेम्बर (हि.स.)। खरसाङ नगरपालिका क्षेत्रमा पिउने पानीको समस्या समाधान भएपछि अब खरसाङलाई अस्पताल, कार पार्किङ र पब्लिक ग्राउण्ड पनि नयाँ वर्षमा उपहार दिनेछु। उक्त कुरा आज गोर्खाल्याण क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले भनेका हुन्।
उनले खरसाङको मन्टेभियट खेल मैदानमा आयोजित एक भव्य कार्यक्रममाझ खरसाङ नगरपालिकामा लागू हुने अमृत 2.0 परियोजनाको शिलान्यास गरे। अनित थापाले 4 फरवरी, 2022 मा सिलगढ़ीमा बसेको बैठकदेखि पहाडमा अमृत परियोजना ल्याउने पहल शुरु गरेका हुन्। 10 फरवरी, 2023 मा कोलकातामा पुगेर तत्कालीन मन्त्री फिराद हाकिमसँग यस परियोजना माथि उनले चर्चा गरेका थिए। पहाडका चारवटै नगरपालिकाका अध्यक्षहरु समेत त्यो बैठकमा उपस्थित रहेका थिए। आज 22 नोभेम्बरको शुभ दिनमा खरसाङ नगरपालिकाको निम्ति अमृत 2.0 परियोजनाको शिलान्यास गरियाे। अन्य नगरपालिकामा पनि यो योजना लागू भईरहेको छ।
थापाले भने, यो योजनालाई पहाडमा सजिलोसँग भित्राएका होइनौं। धेरै लामो कसरत गर्नु परेको हो। यो परियोजना सम्पूर्ण खरसाङवासीलाई आज एक सौगातको रूपमा अर्पण गर्दैछु। यस परियोजनाले खरसाङवासीलाई जीवन अमृत दिन सकोस्। दोष दिएर समस्याको समाधान हुँदैन। हामीले पानीको समस्याको समाधान खोजेर निकालेका हौं। सबैको प्रयासले आज यो पानी आउँदैछ। नगरपालिकाले ठीक ठाउँमा कुरा पुर्याए अनि मैले त्यो ठाउँदेखि कुरा अघि बढाएर लगे। हरेक वार्डवासीको पनि सहयोग हुनुपर्छ। पानीमा राजनीति पटक्कै नगर्नु।
उनले खरसाङलाई नयाँ सौगातको घाेषणा गर्दै भने, अझै खरसाङलाई मैले केही राम्रो उपहार दिनु छ। खरसाङमा नयाँ अस्पताल, कार पार्किङ अनि पब्लिक ग्राउण्ड चाँडै शुरु हुनेछ। नयाँ सालको उपहार नै हुनेछ।
बीजेपीदेखि सतर्क रहनु भन्दै उनले भने, बीजेपीले गोर्खाल्याण्ड दियो भने हामी थाप्ने छौं। तर खोइ दिएको। पहाडमा लठुवाहरु बस्छ अनि तिनीहरूलाई जे भन्दा पनि हुन्छ भनेर उनीहरुलाई थाहा छ। अब फेरि बीजेपीले माटो र जातिको कुरा गर्दै आउनेछ। अनित थापालाई फेरि जाती विरोधी बनाउनेछ। हामी राज्य सरकारसँग नै मिलेर काम गर्नुपर्छ। नौकरी, बाटो, पानी दिने राज्य सरकार नै हो।
यस क्रममा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले अनित थापाको अथक प्रयासको प्रशंसा गर्दै भने, अनित थापाको दूरदर्शी अनि निरन्तर प्रयासको कारण आज खरसाङ पानीको समस्या समाधान गर्ने मार्गमा हिँडेको छ। यो परियोजना खरसाङ को निम्ति ऐतिहासिक नै हो।
हाल, खरसाङ नगरपालिकामा पानी आपूर्ति सानो गुरुत्वआधारित प्रणालीमार्फत विभिन्न जलस्रोतहरूबाट हुँदै आएको छ, जस्तै सिपाही धुरा, अरिङ्गले, चान झोडा, मूर्धा खोला, देवीस्थान, आठ माइल, तेन्दु खोला, थोते खोला आदि। यी स्रोतहरूबाट प्राप्त पानी वर्षायाममा प्रशस्त हुने भए पनि सुख्खा याममा प्रायः पर्याप्त हुँदैन। पानी आपूर्ति प्रणालीलाई पुराना पाइपलाइनहरूमार्फत वितरण गरिन्छ, तर ती स्रोत र संरचना निकै पुराना छन्। नगरपालिकाको अधिकांश क्षेत्र पुर्वाधार अभावका कारण खानेपानीको अभावले ग्रसित छन् ।
तसर्थ स्थायी र भरपर्दो पानी आपूर्ति सुनिश्चित गर्न नयाँ प्रस्तावित योजना अनुसार बालासन नदीलाई स्रोतको रूपमा प्रयोग गरिनेछ। मिशन ‘अमृत 2.0’ अन्तर्गत, पानीको परियोजना खरसाङ नगरपालिकाका सबै 20 वटा वार्डमा लागू हुनेछ, जसले करिब 42 हजार 446 जनसंख्यालाई प्रत्यक्ष लाभ पुर्याउनेछ। योजना अनुसार, नयाँ प्रणालीले बालासन नदीको पानी संकलन गरी विभिन्न वितरण केन्द्रमा पुर्याउनेछ। नगरमा हाल प्रयोग भइरहेका विभिन्न झोडा र प्राकृतिक स्रोतहरूको साटो अब एकीकृत पाइपलाइन नेटवर्कमार्फत घरघरमा पानी पुग्नेछ।
हिन्दुस्थान समाचार / हनोक