खरसाङमा‌ पब्लिक ग्राउण्डको उपहार दिने घोषणाप्रति खरसाङ महकुमा खेलकूद संघद्वारा अनित थापाप्रति धन्यवाद ज्ञापन
Sports association


खरसाङ, 22 नोभेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले खरसाङको लागि पब्लिक ग्राउण्ड उपहार दिने घोषणा गरेपछि खरसाङ महकुमा खेलकूद संघको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। शनिवार खरसाङको मन्टिभियट खेल मैदानमा खरसाङ नगरपालिकाको लागि अमृत 2.0 पिउने पानी परियोजनाको शिलान्यास कार्यक्रममा बोल्दै पानीको समस्या समाधान गरेपछि अब खरसाङको लागि अस्पताल, कार पार्किङ र पब्लिक ग्राउण्ड नयाँ वर्षको उपहार दिने घोषणा गरेका थिए।

उनको उक्त घोषणाप्रति खुशी व्यक्त गर्दै खरसाङ महकुमा खेलकूद संघले यस घोषणालाई खरसाङ क्षेत्रका लागि ठूलो उपहार बताएको छ। खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले धन्यवाद दिएका छन्।

उनले जीटीए‌ प्रमुख अनित थापाको घोषणाले खरसाङको खेलप्रेमी संघ संस्थाहरु र खेलाडीहरुलाई ठूलो आशा जागेको बताए। उनले खरसाङमा पब्लिक ग्राउण्डको लागि सर्वप्रथम खरसाङ महकुमा खेलकूद संघ (त्यसताक -खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ) ले 1970 सालमा आवाज उठाएको‌ बताए। उनले बताए अनुसार, सन् 1990 मा पनि तत्कालीन सचिव दावा गोलेको अगुवाईमा राज्यको खेल मन्त्रीसँग भेट गरिएको थियो।‌ 2019 मा मन्त्री अरुप विश्वासले पनि खरसाङमा‌ पब्लिक ग्राउण्डको लागि आश्वासन दिएका थिए। उक्त भेटघाट पनि त्यसताकका जीटीए डेपुटी चिफ् अनित थापामार्फत् सम्भव भएको सचिव निर्मल गुरुङले बताएका छन्‌।

उनले खरसाङमा‌ पब्लिक ग्राउण्डको लागि खरसाङका धेरै संघ संस्थाहरुले पहल गरेको र सबैको सामुहिक पहलमा शनिवार जीटीए प्रमुख अनित थापाले खरसाङमा‌ पब्लिक ग्राउण्डको उपहार दिने घोषणाले खरसाङ क्षेत्रका सबै खेलकूद संस्थाहरु र खेलप्रेमीहरुमा खुशी छाएको बताएका छन्‌।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande