
गान्तोक, 22 नोभेम्बर (हि.स.)। 'राष्ट्रिय शिक्षा नीति 2020 को कार्यान्वयन: अगाडिको बाटो' विषयमाथि दुई-दिने राष्ट्रिय सम्मेलन शिलाङको नर्थ ईस्टर्न रिजनल इन्स्टिच्युट अफ एजुकेशन (एनईआरआईई) द्वारा आयोजित गरियो। एनईएचयूका उपकुलपति प्रा. प्रभा शंकरको अध्यक्षतामा आयोजित कार्यक्रममा सिक्किम राज्यलाई प्रतिनिधित्व गर्दै माखा सरकारी उच्चतर माध्यमिक विद्यालयका स्नातक शिक्षक (गणित) लोमस ढुङ्गेल सहभागी बनेका थिए।
प्राप्त जानकारी अनुसार, केही महिनाअघि एनईआरआईईले 10 वटा थिममा शोध पत्रका लागि आह्वान गरेको थियो। देशभरबाट प्राप्त धेरै प्रस्तावमध्ये 75 शोध पत्र प्रस्तुतीकरणका लागि छनोट गरियो। कार्यक्रममा सहभागीहरूले आफ्ना शोध पत्र प्रस्तुत गरे। कार्यक्रममा शिक्षक लोमस ढुङ्गेलले अनुसन्धान तथा नवाचार थिम अन्तर्गत हरियो माखा–प्रदूषण विरुद्ध सिक्किम' विषयमा सामाजिक–पर्यावरणीय परियोजना आधारित आफ्नो शोध पत्र प्रस्तुत गरे।
उनको पत्रले २०१५ मा स्वच्छ भारत अभियानबाट प्रेरित भई सिक्किमको माखाबाट शुरु भएको एउटा साधारण परियोजना कसरी विस्तार हुँदै १० विभिन्न पहलहरूमा विकसित भयो भन्ने विस्तृत अध्ययन प्रस्तुत गर्दछ। यी पहलहरूले ठोस फोहर व्यवस्थापन, स्रोतको उचित उपयोग, जैवविविधता, मानव–वन्यजन्तु द्वन्द्व घटाउने तथा दिगो विकासजस्ता क्षेत्रमा काम गर्दै आएका छन्।
उल्लेखनीय छ, यही परियोजनाले यस वर्ष गुजरातमा आयोजित पहिलो नेशनल चेन्जमेकर्स मिटमा सम्पूर्ण भारतबाट चयन गरिएका ५१ उत्कृष्ट चेन्जमेकर आइडियामध्ये एकका रूपमा समेत सम्मानित भएको थियो।
शिक्षक ढुङ्गेलले आफ्ना विद्यार्थीहरू, माखा सरकारी उच्चतर माध्यमिक विद्यालय, अन्य सहयोगी विद्यालय तथा संस्थाहरू, पाटुक–सिङ्बेल जीपीयूका पञ्चायतहरू, स्थानीय बुद्धिजीवीहरू तथा शिक्षा विभाग, सिक्किम प्रदूषण नियन्त्रण बोर्ड, सिक्किम राज्य ईआईएसीपी हब र वन विभागलाई निरन्तर सहयोग र प्रेरणाका लागि धन्यवाद व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल