मानेडाँडा ग्राम पञ्चायतमा माल्तुम–दश नम्बर सडक निर्माणको शिलान्यास, अनित थापाप्रति कृतज्ञता व्यक्त
Maneydara


दार्जिलिङ, 29 नोभेम्बर (हि.स.)। तकदाह–ग्लेनवर्ण समष्टि अन्तर्गत मानेडाँडा ग्राम पञ्चायत संसद नम्बर २ मा माल्तुमदेखि दश नम्बरसम्मको सडक निर्माण कार्यको शिलान्यास आज एक कार्यक्रमबीच सम्पन्न भएको छ। यो परियोजनाले स्थानीय बासिन्दाहरूलाई विकासको नयाँ ढोका खोलेको छ भने यसले क्षेत्रीय समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा खरसाङ महकुमा महासचिव तथा एमओडी सभासद प्रणाम रसाईली, समष्टि पर्यवेक्षक तथा सूचना तथा प्रचार अधिकारी (पीआरओ) विज्ञान मिश्र, रङली रङलियट खण्डका कार्यकारी अभियन्ता स्वर्णीम थापा र मानेडाँडा ग्राम पञ्चायतकी प्रधान पासाङकीत लेप्चाले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

समष्टि उपाध्यक्ष प्रभाकर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको शुरुवात पास्टरको बाइबल वाणी र आशीर्वादबाट भएको थियो। कार्यक्रममा समष्टि महासचिव सुशोभित गुरुङ, केन्द्रियय समिति सदस्य सन्जय सुब्बा, मानेडाँडा ग्राम खण्ड सभापति बिजय राई तथा सचिव प्रतिम राई आदि उपस्थित रहेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य मानेडाँडा उप–प्रधान नथिनियल लेप्चाले प्रस्तुत गरे भने सम्पूर्ण कार्यक्रमको सञ्चालन मानेडाँडा ग्राम खण्ड स्तरीय सचिव प्रतिम राईले गरेका थिए। स्थानीय बासिन्दाहरूले प्रमुख कार्यपाल अनित थापाप्रति विशेष धन्यवाद ज्ञापन दिँदै उनको अथक प्रयास, लगनशीलता, निरन्तर पहल र कुशल नेतृत्वका कारण यो विकास परियोजना सम्भव भएको बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande