
सोनादा, 7 दिसम्बर (हि.स.)। सोनादाको मुण्डाहट्टा बस्ती निवासी र हाल सिलगढी बस्दै आएकी शारदा गुरुङ (डली) अमेरिकाको ओरेन्ज कन्ट्री युनिभर्सिटीबाट मानार्थ पीएचडी सम्मानद्वारा सम्मानित भएकी छन्। उनले उक्त पीएचडी सम्मान दिल्लीमा ग्रहण गरेकी छन्।
उनी समाज सुधारका साथै विभिन्न विषयमा अतुलनीय ज्ञान प्राप्त गरेकोमा पीएचडीले सम्मानित बनेकी हुन्। उनलाई अमेरिकाको ओरेन्ज कन्ट्री युनिभर्सिटीबाट फिलोसफी अन्तर्गत कस्मेटोलोजीमा उक्त मानार्थ पीएचडी सम्मानद्वारा सम्मानित गरिएको छ। उनलाई उक्त मानार्थ पीएचडी सम्मान दिल्लीमा ओरेन्ज कन्ट्री युनिभर्सिटीका सभापति काउलिन किम र चिफ् एक्जिक्युटिभ अफिसर जोसेफ सिकमन्डको बाहुलीबाट प्रदान गरियो।
उल्लेखनीय छ, शारदा गुरुङ (डली) एक सामाजिक कार्यकर्ता हुन्। उनले धेरै समाज सेवाका कार्यहरु गर्दै आएकी छन्। उनले आफ्नो उपलब्धिमा खुशी व्यक्त गरेकी छन्। उनी चियाबारी क्षेत्रमा जन्मिएर सानैदेखि संघर्ष र परिश्रम गरेर यो ऊँचाईमा पुग्न सफल बनेकी छन्। उनले यो उपलब्धिले आफ्नो क्षेत्रलाई गौरवान्वित तुल्याएकी छन्।
हिन्दुस्थान समाचार / हनोक