
खरसाङ, 7 दिसम्बर (हि.स.)। खरसाङ विश्वकर्मा समाजको शतवार्षिकी महोत्सव 2025 आज खरसाङको सन्त अल्फन्सेस विद्यालयमा सम्पन्न भयो। सन् 1925 मा स्थापना भएको खरसाङ विश्वकर्मा समाजको सय वर्ष पूरा भएको अवसरमा आयोजित शतवार्षिकी समारोह तीन चरणमा सम्पन्न गरियो।
पहिलो चरणमा खरसाङको रेलवे स्टेशनबाट शताब्दी गौरव यात्राको आयोजना गरिएको थियो भने दोस्रो चरणमा सन्त अल्फन्सेस विद्यालयमा विश्वकर्मा शताब्दी सम्मानद्वारा दशजनालाई सम्मानित गरियो। उक्त शतवार्षिकी समारोहको अध्यक्षता खरसाङ विश्वकर्मा समाजका सभापति निर्मलकुमार गहतराजले गरेका थिए भने एक सय वर्ष नाघेका वयोवृद्ध डीएस दर्नाल प्रमुख आतिथि थिए।
कार्यक्रमका प्रमुख अतिथि वयोवृद्ध डीएस दर्नाललाई विश्वकर्मा शताब्दी पुरुष सम्मानले सम्मानित गरियो। यसपछि, विश्वकर्मा समाजका 14 जना पुरोहितहरु र 12 जना अरानमा काम गर्ने शिल्पकारहरुलाई सम्मान जनाइयो। यसैगरी, विभिन्न क्षेत्रमा योगदान दिने विश्वकर्मा समाजका 10 जना विशिष्ट व्यक्तित्वहरूलाई विश्वकर्मा शताब्दी सम्मानद्वारा सम्मान जनाइयो।
यस क्रममा विश्वकर्मा शताब्दी संगीत सम्मान रञ्जित गजमेर मुम्बईलाई र विश्वकर्मा शताब्दी चलचित्र श्रीपेच सम्मान तुलसी घिमिरेलाई प्रदान गरियो। सम्मानित व्यक्तिहरूको अनुपस्थितिमा उनीहरूका परिवारले सम्मान ग्रहण गरेका थिए।
त्यसरी नै विश्वकर्मा शताब्दी प्रिय जनप्रतिनिधि सम्मान सिक्किमका विधायक मदन सिञ्चुरीलाई प्रदान गरियो भने विश्वकर्मा शताब्दी शिखर खेलाडी सम्मान सिलगढीका वीरबहादुर रसाइलीलाई प्रदान गरियो। यसरी नै विश्वकर्मा शताब्दी साहित्य संस्कृति साँघु सम्मान असमका प्रेम विश्वकर्मालाई, विश्वकर्मा शताब्दी समर्पित समाजसेवक सम्मान डुवर्स निवासी केदार गजमेरलाई, विश्वकर्मा शताब्दी शीर्षस्थ चित्रकला सम्मान खरसाङका भीमल रसाइलीलाई, विश्वकर्मा शताब्दी आदर्श शिक्षक सम्मान जोरबंगलो दार्जिलिङका विनय गजमेरलाई र विश्वकर्मा शताब्दी शास्त्रीय संगीत गौरव सम्मान कालेबुङका निशान्त सिंहलाई प्रदान गरियो।
यस अतिरिक्त, विश्वकर्मा समाजका विद्यावारिधि प्रापक व्यक्तित्वहरु, संस्थापक सदस्यका परिवारहरू र भूतपूर्व पदाधिकारीहरुलाई पनि सम्मान जनाइयो।
शतवार्षिकी समारोहको तेस्रो चरणमा सांस्कृतिक सांगीतिक सम्मिलन समारोहको आयोजना गरिएको थियो, जसमा विश्वकर्मा समाजका चर्चित गायक गायिकाहरुले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। यस शतवार्षिकी समारोहमा असम, सिक्किम, दार्जिलिङ, कालेबुङ, डुवर्स, सिलगढी, बिजनबारी, मिरिक, सोनादा, सिटोङ, तीनधारे लगायत विभिन्न स्थानहरुबाट विश्वकर्मा समाजका पदाधिकारीहरु र प्रतिनिधिहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक