
गोर्खाल्याण्ड हाम्रो भिजन हो, यो भिजन कहिले पनि मेट्नु हुँदैन: अजय एडवर्ड्स
दार्जिलिङ, 7 दिसम्बर (हि.स.)। इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सले आज तुङ्सुङ समरिक पानीमा नवनिर्मित गोर्खाल्याण्ड पुलको उद्घाटन गरेका छन्। उनले गोर्खाल्याण्ड पुलले गोर्खाहरूको दीर्घकालीन मागलाई ताजा बनाई राख्ने बताएका छन्।
पुल उद्घाटन कार्यक्रमलाई सम्बोधित गर्दै उनले भने, 'जोरबंगला समष्टि अन्तर्गत तुङसुङ खोलामा नवनिर्मित गोर्खाल्याण्ड पुलको आज विधिवत उद्घाटन गर्न पाएकोमा धेरै खुशी लागेको छ। धेरैले प्रश्न गर्छन् कि पुलको नाम गोर्खाल्याण्ड किन राखेको भनेर। गोर्खाल्याण्ड हाम्रो भिजन हो अनि यो भिजन कहिले पनि मेट्नु हुँदैन।'
उनले अझ भने, 'गोर्खाल्याण्डको नाममा गरिएका आन्दोलनहरूमा धेरैले प्राणको आहुति दिएका छन्। जनताले धेरै दुःख पाएका छन्। गोर्खाल्याण्ड गोर्खा जातिको मुटुको धड्कन हो, हाम्रो जातिको चिन्हारी हो, गोर्खाहरूको मौलिक अधिकार हो। गोर्खाल्याण्ड गोर्खाहरूको भिजन हो अनि यो भिजनलाई हामीलाई कहिले पनि बिर्सिनु हुँदैन।'
केन्द्रिय संयोजक एडवर्ड्सले यो गोर्खाल्याण्ड पुलको निर्माण राज्य सरकार, केन्द्र सरकार, जीटीए सरकार साथै जिल्ला प्रशासनले निर्माण गरेको होइन, जनताले बनाएको पूल हो भनी बताए।
हिन्दुस्थान समाचार / हनोक