
कोलकाता, 29 नोभेम्बर (हि.स.)। दक्षिण 24 परगनाको बकुलतला थाना क्षेत्रमा गए शुक्रवार अबेर राति भएको भीषण सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने धेरैजना मानिसहरू घाइते भए। ज्यान गुमाउने व्यक्तिको पहिचान नीलरतन मण्डल (65)- को रूपमा भएको छ। घटनास्थलमै तिनको मृत्यु भएको हो। घाइतेहरूलाई स्थानीय एक निजी अस्पतालमा भर्ती गरिएको छ जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ जसलाई बारूइपुर अस्पतालमा रेफर गरिएको छ।
स्थानीय सूत्र अनुसार कुलतली थाना क्षेत्रको 11 सुरेन बाबुरचकदेखि लगभग 30 जना मानिसहरू जयनगर थाना क्षेत्रको विश्वासचकस्थित एक विवाह समारोहमा सामेल हुन आएका थिए। भोजन गरेपछि सबैजना मोटरभ्यान मार्फत फर्किरहेका थिए। यसै क्रममा नओपुकुरिया नजिक पुगेपछि अचानक मोटरभ्यानको एउटा चक्का पड़्क्यो। चक्का पड़्किनसाथ चालकले नियन्त्रण गुमायो फलस्वरूप वाहन सोझै सड़क किनारमा अवस्थित तलाउमा झऱ्यो।
दुर्घटना भएको जानकारी पाउनसाथ स्थानीय मानिसहरू घटनास्थलमा पुगेर बचाउ कार्यमा जुटे। पछि बकुलतला थाना पुलिस पनि घटनास्थलमा पुग्यो। पुलिसले बतायो, दुर्घटना कसरी भयो, पत्तो लगाउनको लागि जाँच शुरू गरिएको छ। साथै तलाउमा अन्य पनि कोही झरेको छ कि छैन, पत्तो लगाउनको लागि जाल बिछ्याएर खोजी गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा